निगमले २२ अर्बमा खरिद गर्न लागेको जहाज पहिले नै दुर्घटनामा परेको !
माघ ३ । नेपाल वायु सेवा निगमले २२ अर्ब ६३ करोड रुपैयाँमा खरिद गर्न लागेको दुई जहाज मध्ये एक पहिले नै सामान्य क्रयास भएको दाबी गरिएको छ ।
दुर्घटनामा बायाँ पखेटामा क्षतिपुगेको जहाज पूर्ण मर्मत (एमआरओ) गरेर निगमलाई अमेरिकी कम्पनी एएआर कर्पोरेसनले दिन लागेको स्रोतको दाबी छ । स्रोत भन्छ, ‘गाडीको चेसिज नम्बर जस्तै जहाजको एमएसएन नम्बर हुन्छ । एमएसएन नम्बर अहिलेसम्म सार्वजनिक नभएपछि दुर्घटनामा परेको जहाज हो कि भन्ने शंकामा बल पुगेको छ ।’
नेपाल वायुसेवा निगमले एअरबस कम्पनीको ३३०–२०० सिरिजका वाइडबडी दुई जहाज खरिदका लागि ग्लोबल टेन्डर आह्वान गरेको थियो । झन्डै २३ अर्बको यो किनबेचमा ठूलो प्रतिस्पर्धा हुन सक्थ्यो । धेरैभन्दा धेरै बिक्रेताले निगमसँग प्रस्ताव पेस गर्न सक्थे । स्रोत भन्छ,‘टेन्डरमा यस्ता यस्ता शर्त राखिए कि जसबाट दर्जनौं कम्पनीले भाग लिनै पाएनन् । कतिसम्म भने जहाज डेलिभर गर्ने माध्यम कम्पनीसमेत स्टक लिस्टेड हुनु पर्ने शर्त राखियो । टेन्डरमा ११ कम्पनीले भाग लिएका थिए । ’‘कुनै एक कम्पनीको योग्यता हेरेर टेन्डरको शर्त बनाइयो’ स्रोत भन्छ, ‘यसो भएपछि निगम व्यवस्थापनले चाहेको कम्पनीले मात्रै बिड गर्न पाउने भयो ।’
स्रोतको यस्तो दाबी भए पनि निगमले १ हजार घण्टाभन्दा कम उडान भरेको, सन २०१४ भन्दा पछि निर्माण भएको जहाज मागगरेको थियो । अमेरिकी कम्पनीले दिन लागेको जहाज ‘न्यू ब्रान्ड’ हो । तर त्यो जहाज निर्माणाधीन छ । निगम व्यवस्थापनका अनुशार अरु नै कसैले अर्डर गरेको जहाज थियो । त्यो उसले उठाउन नसकेपछि निगमलाई बेच्न प्रस्ताव गरिएको हो ।
कम्पनीले पहिलो जहाज आठ महिनापछि र दोस्रो जहाज ११ महिनापछि उपलब्ध गराउनेछ । एअरबससँगै नयाँ जहाज खरिद गर्दा कम्तिमा ३ देखि ५ वर्ष लाग्ने हुनाले निगमले १ हजार घण्टा उडेको भए पनि किन्ने निर्णय गरेको थियो ।