अपराध सुरक्षा

सुन तस्करीमा संलग्न एसपी हेडक्वाटर तानिए

सुन तस्करीमा संलग्न एसपी हेडक्वाटर तानिए

माघ ४ । सुन तस्करी प्रकरणमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका एसएसपी श्यामबहादुर खत्री अनुसन्धानका लागि प्रहरी मुख्यालय तानिएका छन् ।

गत साता विमानस्थलभन्दा बाहिर ३४ किलो सुनसहित पक्राउ परेका अभियुक्तले दिएको बयानका आधारमा प्रहरी मुख्यालयले एसएसपी खत्रीलाई अनुसन्धान गर्न हेडक्वार्टर फिर्ता बोलाएको हो ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को आग्रहमा प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले खत्रीलाई विमानस्थलबाट फिर्ता बोलाएका हुन् ।

ब्युरोको टोलीले गत साता पिंगलास्थानबाट ३४ किलो अवैध सुनसहित पक्राउ गरेका तीन अभियुक्तलाई संगठित अपराध अभियोगमा हिरासतमा राखी अनुसन्धान जारी राखेको छ ।

नेपालगन्जका गोपालबहादुर शाही, मोरङका दिलबहादुर थापा र धनुषाका सन्तोष काफ्ले गत साता पक्राउ परेका थिए । आरोपितको बयानका आधारमा ब्युरोको टोलीले विमानस्थल भन्सार कार्यालयका अधिकृतहरू श्रीनारायण यादव र राजकुमार ढकाललाई पनि पक्राउ गरिसकेको छ । २०६९ साल फागुनमा विमानस्थलमै कार्यरत एसएसपी रविराज श्रेष्ठ विदेशी मुद्रा तस्करी अभियोगमा सेवाबाटै बर्खास्त भएका थिए । १ करोड २४ लाख रुपैयाँबराबरका विदेशी मुद्रा तस्करीमा एसएसपी श्रेष्ठको संलग्नता खुलेपछि गृह मन्त्रालयले उनलाई भविष्यमा सरकारी सेवामा अयोग्य नठहरिने गरी बर्खास्त गरेको थियो ।

त्यसको चार वर्ष बित्न नपाउँदै पुनः विमानस्थलबाटै अर्का एसएसपी खत्रीमाथि प्रहरी मुख्यालयले सुन तस्करी आरोपमा अनुसन्धान अघि बढाएको हो ।

खत्रीलाई हेडक्वार्टर फिर्ता गर्नुअघि ब्युरोले विमानस्थलमा कार्यरत प्रहरी, भन्सार, अध्यागमन तथा शंकास्पद अन्य व्यक्तिको ‘कल डिटेल’ हेरेको थियो । स्रोतका अनुसार एसएसपी खत्री पनि ब्युरोको प्रारम्भिक अनुसन्धानपछि हेडक्वार्टर तानिएका हुन् ।

प्रहरी प्रवक्ता एसएसपी ठाकुरप्रसाद ज्ञवालीले खत्रीलाई फिर्ता बोलाइएको पुष्टि गरे । यद्यपि, प्रवक्ता ज्ञवाली सुन तस्करी प्रकरणबारे खुल्न चाहेनन् । “सुन तस्करी प्रकरणमा प्रहरी संयन्त्र निरन्तर अनुसन्धानमा क्रियाशील छ”, उनले भने, “तर, उहाँ (एसएसपी खत्री)लाई प्रशासनिकलगायत केही विषय बुझ्नका लागि बोलाइएको हो ।”

सुन तस्करीको दिन ड्युटीमा खटिएका २९ जना भन्सार कर्मचारीलाई ब्युरोको अनुसन्धानपछि जिम्मेवारीबाट मुक्त गरिएको छ । अनुसन्धानले पूर्णता नपाएसम्म ती कर्मचारीलाई कुनै जिम्मेवारी नदिई जगेडामा राखिएको जनाइएको छ ।

Shyam Khatri

विशेष