अपराध सुरक्षा स्वास्थ्य

औषधीको मूल्य २० गुणा बढी

औषधीको मूल्य २० गुणा बढी

माघ ६ । सय एमजीको प्रोजेस्टोरोन नामक औषधि नेपाल भित्र्याउँदा भन्सारमा सकारिएको मूल्य ८० पैसा छ । त्यसैलाई बजारमा १६ रुपैयाँमा बेच्ने गरिएको छ । ‘भन्सारमा सकारेभन्दा २० गुणाभन्दा बढीमा समेत औषधि बिक्री भइरहेको पाइएको छ ।’

सरकारले अत्यधिक मूल्य बढाइएका यो र यस्ता औषधिको बिक्रीमा निलम्बन वा रोक्का भने गरेको छैन । त्यसका आयातकर्ता र विक्रेतालाई कारबाहीको दायरामा पनि ल्याएको छैन । बरु ‘छानबिन’ मा अल्झिएको छ ।

‘भारतीय बजारमा अति सस्तो पर्ने औषधि नेपाली बजारमा अत्यन्त महँगोमा बेच्ने गरेको गुनासा हामीकहाँ आइरहेका छन,’ मन्त्री थापाले भने, ‘हामीले यसमा छुट्टै टिम बनाएर छानबिन सुरु गरेका छौं । सर्वसाधारणले छिट्टै सही मूल्यमा औषधि पाऊन् भनेर विभिन्न प्रक्रिया सुरु गर्दै छौं ।’

सरकार कडा हुन नसकेकैले मुलुकमा औषधिको ‘कालो बजारी’ बढेको पाइएको छ । ‘औषधिको मूल्य अत्यधिक हुनुमा विक्रेता, आयातकर्ता, चिकित्सकदेखि सबैको खराब साँठगाँठ रहेको प्रारम्भिक जानकारीमा देखिएको छ,’ स्वास्थ्यमन्त्री थापाले भने, ‘हरेक नेपालीको जीवनसँग जोडिएको औषधिको मूल्यलाई ठीक ठाउँमा ल्याएर यसभित्र भएको खेल समाप्त पार्ने प्रक्रिया सुरु भइसकेको छ ।’ चिकित्सकका अनुसार महँगो पर्ने क्यान्सरका औषधिमा अझै धेरै चलखेल हुने गरेको छ ।

‘भारतमा चार हजारमा पाइने केमोथेरापीको औषधि हामीकहाँ करिब १४ हजार पर्ने गरेको छ । अन्य औषधिको मूल्यमा पनि तेब्बरभन्दा बढीको अन्तर छ,’ भक्तपुर क्यान्सर अस्पतालका एक चिकित्सकले भने, ‘औषधि व्यवस्था विभागमा भारतका स्थानीय कम्पनीले यस्ता औषधि दर्ता गराएर मनपरी भाउमा बेचिरहेका छन् ।’

‘क्यान्सर उपचारमा उपयोग गरिने औषधिमा भन्सारमा सकारेको मूल्यभन्दा २० गुणाभन्दा बढीमा बिक्री हुने गरे पनि अहिलेसम्म कसैलाई कारबाही भएको छैन,’ विभागका एक पदाधिकारी भन्छन्, ‘विभागमा तलदेखि माथिसम्मको सेटिङले यो जारी छ ।’

भन्सार विभागका महानिर्देशक शिशिर ढुंगानाले औषधिमा अतिकम अर्थात् १ देखि ५ प्रतिशतसम्म भन्सार महसुल लाग्ने बताए । भ्याट भने छुट छ । ‘यति थोरै भन्सार तिर्नसम्म मूल्य कम देखाउने तर यता ल्याएर मनपरी मूल्य राखी उपभोक्ता ठग्ने काम भइरहेको छ,’ विभागका ती अधिकारीले भने ।

औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालले पनि औषधि आयात गरिएका भारतलगायत केही मुलुकमा भन्दा अत्यन्त बढी मूल्यमा बिक्री गर्नेहरूलाई कानुनी कारबाहीको दायरामा ल्याउन नसकिएको स्विकारे ।

कान्तिपुर

Medicine

विशेष