अपराध सुरक्षा स्वास्थ्य

विपन्नको सहुहिलयत रकम कुम्ल्याएका यी अपराधी कर्मचारी

विपन्नको सहुहिलयत रकम कुम्ल्याएका यी अपराधी कर्मचारी

माघ ६ । सरकारले विपन्नलाई क्यान्सर उपचारका लागि छुट्टयाएको सहुलियत रकम बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कर्मचारीले किर्ते गरी निकालेको पाइएको छ ।उनीहरूले सिफारिसमा सम्बन्धित डाक्टरको हस्ताक्षर किर्ते गरेर रकम फुत्काएका हुन् ।

कलेजो क्यान्सरले पीडित गोरखा, घ्याल्चोक ९ का निमनारायण श्रेष्ठले आफूले पाउने एक लाख रुपैयाँमध्ये ५० हजार अस्पताल कर्मचारीले खाइदिएको बताए । यसबारे बुझ्न श्रेष्ठ बुधबार फाइल च्यापेर अस्पताल परिसरमा चिकित्सक पर्खिरहेका थिए । न्यायको खोजीमा रहेका उनले यसबारे छानबिनका लागि जिल्ला प्रशासनमा उजुरीसमेत दिएका छन् ।

श्रेष्ठले बीपी अस्पतालबाट २०६९ वैशाख ८ गते २२ हजार १ सय ३३ र जेठमा २० हजार ४ सय ३ रुपैयाँको केमो, औषधि गरी ४४ हजार ५ सय ३६ रुपैयाँको मात्र सुविधा पाएका थिए । उनी पछिल्लोपटक गत शुक्रबार नियमित जाँचमा आएका थिए । त्यसबेला बाँकी छुटको औषधि माग गर्दा अस्पतालले एक लाखको छुट पाइसकेको जनाएपछि उनी अचम्ममा परे । ‘कर्मचारीको मिलेमतो नभएसम्म किर्ते काम सम्भव छैन,’ उनले भने, ‘ककसको संलग्नता छ, सबैलाई कारबाही हुनुपर्छ ।’

गत साउन १९ गते २० हजार ३ सय ३० रुपैयाँको केमो चढाएको भन्दै किर्ते कागज तयार पारिएको श्रेष्ठको दुखेसो छ । कागजमा चिकित्सकले १८ गते केमो सिफारिस गरेकोमा साझा औषधिबाट १९ गते निकालिएको देखिन्छ । सिफारिसमा डा. जया श्रेष्ठको हस्ताक्षर छ । श्रेष्ठकै नामबाट गत कात्तिक ३० गते बिरामीले खाने २९ हजार १ सयको इलोनिक्स औषधि निकालिएको छ ।

तर, उनी आफूले केमो र उक्त औषधि नै नलिएको दाबी गर्छन् । औषधि डा. रञ्जनभक्त भण्डारीको हस्ताक्षरमा निकालिएको विवरण छ । डा. श्रेष्ठ र भण्डारी भने आफूहरूले उक्त सिफारिस नै नगरेको र हस्ताक्षर किर्ते रहेको बताउँछन् । ‘यसको छानबिन हुनुपर्छ,’ डा. श्रेष्ठले भने, ‘अस्पतालभित्र ककसको मिलेमतो छ, प्रशासनले हेर्नुपर्छ ।’

बिरामी हेर्ने काम चिकित्सकको र कागजात हेर्ने काम अस्पताल प्रशासनको भएको उनको भनाइ छ । जिल्ला प्रशासनले उजुरीमाथि छानबिनका लागि अस्पताललाई पत्र पठाएको छ ।

अस्पतालका उपनिर्देशक डा. देज गौतमले छुट रकम अनियमिततामा अस्पताल, कोष वा साझाका कर्मचारीको मिलेमतो रहे–नरहेको अनुसन्धान गर्ने बताए । ‘छुटको रकम बिरामीले नपाउँदै बीचमै किर्ते गरी निकालेको पाइयो, यो अत्यन्तै दुस्खद घटना हो,’ उनले भने, ‘हामी गहिरिएर अनुसन्धान गर्छौं ।’

सरकारले क्यान्सर बिरामीका लागि गरिब तथा विपन्न नागरिक उपचार कोषमार्फत १ लाख रुपैयाँ बराबरको औषधि सुविधा निस्शुल्क दिँदै आएको छ । चिकित्सकले औषधि लेख्ने र साझाले मूल्य निर्धारण गरेपछि कोषको सिफारिसमा छुट दिइन्छ ।

किर्ते गरी निकालिएको औषधि कर्मचारीले बाहिर फार्मेसीमा सस्तो मूल्यमा बिक्री गर्ने गरेको स्रोतले जनाएको छ । श्रेष्ठ २०६५ कात्तिक १० गते बीपीमा भर्ना भएका थिए ।

कान्तिपुर

Bharatpur hospital

विशेष