अरुबेला सुनका भरियामात्रै जाकिन्थे, यो पल्ट मालिकलाई नै तान्छौं
सुन तस्करीका सहयोगी समात्ने तर मालिक उम्के त होला नी फेरि, होइन ?
– त्यस्तो हुँदैन । हामीले लगानीकर्तासम्म पत्ता लगाइसकेका छौं । मालिकलाई समेत समातेर कारबाही गर्नकै लागि संगठित अपराधको मुद्दामा अनुसन्धान गरिरहेका छौं ।
यसअघि संगठित अपराधमा मुद्दा चलाउँदा असफल भएको उदाहरण छ, अझ सुन बोक्ने मात्रै पक्राउ परेका छन् नी ?
– धेरै कुरा प्रस्ट भइसकेको छ । हामी सुन तस्करी समूहको भित्री तहसम्म पुग्ने कोसिसमा छौं । संगठित अपराध मुद्दामा स्थापित हुन्छ । सिआइबीले त्यो क्षमता प्रमाणित गर्नुछ ।
अहिले कुन तहसम्म पुग्नुभएको छ ?
– माथिल्लो तह नै पहिचान भइसकेको छ । अनुसन्धानमै भएकोले धेरै कुरा भन्न मिल्दैन । अर्थमन्त्री र गृहमन्त्रीले सिआइबी अनुसन्धान गर्न सक्षम छ भनेकोले हामीलाई ब्याकअप भएको छ । त्यसैले सुनको ठूलो गिरोह यसबाट पत्तो लाग्छ । यति भनौं, अन्तर्देशीय सञ्जालको संलग्नता देखिन्छ ।
को को संलग्न हुँदो रहेछ यस्तो कारबोबारमा ?
– सुन ओसारपसार यो मात्रामा हुन्छ भन्ने हामीलाइ पनि लागेको थिएन । यति ठूलो स्वरुप देखेर हामी पनि अचम्मित भयौं । यति ठूलो परिमाणमा हुने कारोबार पक्कै उच्च हतको मिलेमतोबिना सम्भव छैन । अब हामी त्यो संयन्त्रतिर अनुसन्धानलाई अगाडि बढाउँनेछौं ।
–सिआइबी निर्देशक प्रमुख नवराज सिलवालको नेपाल साप्ताहिकमा प्रकाशित अन्तर्वार्ता