अपराध सुरक्षा

स्वच्छ वातावरणमा बाँच्न पाउनुपर्ने माग गर्दै सर्वोच्चमा रिट

स्वच्छ वातावरणमा बाँच्न पाउनुपर्ने माग गर्दै सर्वोच्चमा रिट
माघ - १० । संविधानले प्रदत्त गरेको स्वच्छ वातावरणमा बाँच्न पाउनुपर्ने माग गर्दै वातावरणीय विकास तथा संरक्षण कानुन मञ्चले सोमबार सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेको छ । सरकारले र सम्बन्धित निकायले प्रत्येक जनताको स्वच्छ वातावरण र स्वस्थरुपमा बाँच्न पाउने हकलाई संरक्षण नगरेको जनाउँदै मञ्चका अध्यक्ष अधिवक्ता पदमबहादुर श्रेष्ठले सोमबार निवेदन दिएका हुन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलगायत सम्बन्धित मन्त्रालय, विभाग र नगरपालिकालाई विपक्षी बनाइएको उक्त निवेदनमा काठमाडौं उपत्यकामा भइरहेको विभिन्न निर्माणबाट वायु प्रदूषणमा हुने असर रोक्ने काम अविलम्ब गराउन विपक्षीका नाममा परमादेश माग गर्न भनिएको छ । ‘विभिन्न निर्माणाधीन आयोजनाबाट निस्केको धुवाँधुलो हावामा मिसिन गइ मानिसको स्वास्थ्यमा परेको असरबारेमा विपक्षीले कुनै ख्यालसम्म नगरी जनताको स्वच्छ र स्वस्थ्यरुपमा बाँच्न पाउने संवैधानिक हकलाई कुन्ठित पारिएको’ निवेदनमा उल्लेख छ । निवेदनमा नागरिकको स्वच्छ र स्वस्थ्य वातावरणमा बाँच्न पाउने संविधानप्रदत्त मौलिक हकबाट वञ्चित भएकाले विपक्षीलाई सो विषयमा पटक–पटक मौखिकरुपमा अनुरोध गर्दासमेत कुनै वास्ता नगरेको भनी लिखितरुपमा धुवाँधुलोबाट हुने वायु प्रदूषण रोक्न विपक्षीबाट आवश्यक कदम चाल्न माग गरिएको छ । अदालतले यही माघ १२ गते हाजिर हुन विपक्षीलाई निर्देशन दिएको छ ।

सर्वोच्च अदालत

विशेष