अपराध सुरक्षा

विद्युत् चोरीमा संलग्नलार्इ कडा कारबाही गर्न माग

विद्युत् चोरीमा संलग्नलार्इ कडा कारबाही गर्न माग
माघ - १० । विद्युत् चोरीमा संलग्न कर्मचारीलाई कारबाहीको दायरा अगाडि बढाइएकोमा नेपाल विद्युत् प्राधिकरण कर्मचारी सङ्घ तथा सङ्गठनले स्वागत गरेका छन् । महानगरीय प्रहरी प्रभावले विद्युत् चोरीमा संलग्न १६ जनालाई आइतबार पक्राउ गरेपछि नेपाल विद्युत प्राधिकरण नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन र नेविप्रा कर्मचारी युनियनले उक्त अभियानको स्वागत गरेको हो । प्राधिकरणका कर्मचारीको मिलेमतोमा नै विद्युत् चोरी हुने गरेको तथ्यलाई पुष्टि हुने गरी महानगरीय प्रहरीले आइतबार मात्रै विभिन्न वितरण केन्द्रका कार्यरत कर्मचारीलाई पक्राउ गरेको थियो । नेविप्रा नेपाल राष्ट्रिय कर्मचारी सङ्गठनका महासचिव माधव अधिकारीले प्राधिकरणकै कर्मचारी विद्युत् चोरीमा संलग्न हुनु अक्षम्य अपराध भएकाले कडा कारबाही गर्न र थप अनुसन्धान गर्न आग्रह गरे । उनले संस्थालाई हानिनोक्सानी गर्नेलाई कारबाही गरे मात्रै प्राधिकरणको आर्थिक स्वास्थ्य राम्रो हुने र त्यसमा सबैको साथ र सहयोग हुनुपर्नेमा जोड दिए । यस्तै नेविप्रा कर्मचारी युनियनका अध्यक्ष रामेश्वर पौडेलले विद्युत् चोरीमा संलग्न कर्मचारीलाई नियन्त्रणमा लिएको विषय स्वागतयोग्य रहेको बताए । उनले मुलुकका अन्य सहरी तथा औद्योगिक क्षेत्रमा समेत आफ्नो स्वार्थ पूर्तिका लागि संस्थालाई घाटा पुर्‍याउन उद्यत तत्वहरु हुनसक्ने भएकाले त्यसको खोजी गरी कारबाही गर्न र प्राधिकरणको हित, उन्नति र प्रगतिमा बाधक रहेको तत्वलाई कडा कारबाही गर्न माग गरे । महानगरीय प्रहरी अपराध महाशाखाले नियन्त्रणमा लिएका प्राधिकरणका कर्मचारी विभिन्न ट्रेड युनियनमा आबद्ध रहेको पाइएको प्रहरीले जनाएको छ ।

विद्युत् चोरी

विशेष