अपराध सुरक्षा

राष्ट्रपति कार्यालयका कर्मचारीले प्रहरीलाई मुक्का हानेपछि...

राष्ट्रपति कार्यालयका कर्मचारीले प्रहरीलाई मुक्का हानेपछि...

माघ ११ ।  अल्लारे बैंस अनि सर्वोच्च निकायको जागिर ! यति भएपछि अचेलका ठिटालाई के चाहियो ? जोशैजोशमा उम्लने राष्ट्रपति कार्यालयका कर्मचारी हिरासतको हावा खान पुगेका छन् ।

नाम हो जोन लिम्बू । उमेर २३ वर्ष । २३ गतेका दिन मोटरसाइकलको पछिल्तिर केटीलाई लोड गरेर पोखराको ‘डेभिड फल्स’ घुम्न लाने क्रममा दुई जना प्रहरीमाथि हातपात गर्दा सार्वजनिक अपराधअन्तर्गत म्याद थप गरी उनलाई खोरमा थुनिएको छ । घोरेपाटन चौकीअगाडि ‘नो पार्किङ’ लेखिएको ठाउँमा बाइक नराख्नु भन्दाभन्दै ‘मलाई चिन्या छौ ?’ भनी हेण्डल लक गरेपछि हवल्दार अमर बिक र ट्राफिक प्रहरी जवान कमल चौधरीसँग झडप परेको हो ।

लाइसेन्स माग्दा परपरबाटै राष्ट्रपति कार्यालयको परिचयपत्र देखाउन थालेपछि विवादले उग्ररूप लिएको बताइन्छ । सोही क्रममा लिम्बूले सिपाहीलाई आँखामा र हवल्दारलाई गुप्तांगमा लात्ती, मुड्की हानेको प्रहरीको जाहेरी छ । बैदाम चौकीबाट लगत्तै घटनास्थल पुगेका प्रहरीले उनको सक्कली परिचय पाएपछि सिपाहीहरूको औषधोपचार गरिदिने शर्तमा मेलमिलाप गराएका थिए ।

तर, भोलिपल्ट ती सिपाही ‘मोरालको कुरा छ, पहुँचवालालाई जे गल्ती गर्दा पनि सोर्स फोर्सको आधारमा छोड्दै जाने हो भने हामीले किन मरेर ड्युटी गर्नु ?’ भन्दै सुन्निएको आँखा लिएर जिल्ला प्रहरी प्रमुख घनश्याम अर्यालसमक्ष रोइकराइ गर्न पुगेपछि लिम्बूलाई पुनः हिरासतमा लिएर सिडिओ कार्यालयबाट म्याद थप गरिएको हो । त्यसदिन झडप चल्दाचल्दै लिम्बूसँग गएकी केटी भने फुत्त गायब भएको प्रत्यक्षदर्शी बताउँछन् । ती लिम्बू टुहुरा केटा हुन् ।

जनआस्था

Nepali Presdent # President of nepal

विशेष