पर्यटन

पर्यटकीय क्षेत्र नगरकोटको सरसफाई कार्यक्रम सम्पन्न

पर्यटकीय क्षेत्र नगरकोटको सरसफाई कार्यक्रम सम्पन्न
माघ – १२ । नगरकोट नालडुम पर्यटन विकास समिति, नेपाली सेना, नेपाल प्रहरीका साथै विभिन्न क्लबको सहकार्यमा ‘सफा रहौँ, स्वस्थ रहौँ’ मूल नाराका साथ सरसफाई कार्यक्रम सम्पन्न भएको छ । पर्यटकीय क्षेत्र नगरकोटलाई वातावरण मैत्री बनाउन नगरकोट नालडुम पर्यटन विकास समितिको आयोजनामा मंगलबार नगरकोट सरसफाई कार्यक्रम सम्पन्न भएको हो । नगरकोटलाई पर्यटकीय हिसाबमा सफा र सुन्दर बनाउन सरसफाइ कार्यक्रम आयोजना गरिएको पर्यटन विकास समितिका संस्थापक सदस्य बलबहादुर तामाङले नेपाल आजलाई बताए । नगरकोट नालडुम पर्यटन विकास समितिबाट ९ बजे सुरु भएको उक्त सरसफाई कार्यक्रम पर्यटकीय क्षेत्र हुँदै पुनः समितिमै आएर समापन गरिएको थियो । सरकारले नगरकोटलाई पर्यटकीय क्षेत्र बनाउने प्रतिबद्धता जनाएपनि अझै कार्यान्वयन नगरेको र नगरकोटवासीको संलग्नतामा सरसफाई कार्यक्रम गरिएको तामाङले बताए । पर्यटकलाई आकर्षीत गर्न सफल भइरहेको नगरकोटको बाटो भने जीर्ण अवस्था रहेको पनि उपाध्यक्ष गुरुङले जानकारी दिए । २०७२ सालको महाभूकम्पपछि बिर्गिएको सडक बनाउन सरकारले ढिला गरेकोमा गुरुङको गुनासो रहेको छ । भक्तपुर र काभ्रेका जिल्ला अघिकृत र अन्य सरोकारवालाहरुसँग सडक मर्मतको लागि अन्तरक्रिया कार्यक्रम भएको र यसबारे सरकारले प्रतिबद्धता जनाएपनि काम सुस्त गतिमा गएको प्रति उपाध्यक्ष गुरुङले दुःख व्यक्ति गरे । स्थानीय, व्यापारी, नेपाली सेना, प्रहरीको मिलेमतोमा भएको सरसफाई कार्यक्रम प्रत्येक महिना नगरकोटमा आयोजना गरिने समितिका उपाध्यक्ष नविन गुरुङले बताए । ११ गते सरसफाइ कार्यक्रम समापन भएसँगै बिहीबार नगरकोट शान्ति डाडाँमा बुद्ध मूर्तिको स्थापना हुने भएको छ । शुक्रबार र शनिबार भने मौलिक कला तथा स‌ंस्कृति झल्काउने महोत्सव गरिने छ । महोत्सवमा राष्ट्रिय स्तरका कलाकारको प्रस्तुति र स्थानीय उत्पादनको स्टल पनि राखिने उपाध्यक्ष गुरुङले बताए ।

नगरकोट सरसफाई कार्यक्रम

विशेष