सुन तस्करी बढेपछि रसुवागढीमा कडा जाँच
माघ - १२ । उत्तरी नाका रसुवागढीबाट अवैधरुपमा सुन भित्रिनथालेपछि नेपाल प्रहरीले जाँच परीक्षण कार्य कडाइ गरेको छ । जिल्ला प्रहरी कार्यालय, रसुवाका प्रमुख फणीन्द्र प्रसाईंका अनुसार जाँच गर्ने उपकरण एक्स–रे मेसिन नभएका कारण हातले खोलेर आँखाले हेरेर भए पनि अवैध कारोबारको जाँचमा कडाइ गरिएको हो ।
फल्स बटन तयारी गरी मोटरसाइकल, सुमोजिप र पैसा राख्ने ब्यागमा समेत सुन फेला पर्न थालेपछि मानिसको शरीर तथा सवारी साधनका विभिन्न पार्टपूर्जामा जाँच परीक्षण कार्यलाई तीब्रता दिइरहेको र अथक प्रयासबाट थोरै परिमाणको सुनसमेत पक्रन नेपाल प्रहरी सफल भएको बताइएको छ ।
अवैध कारोबार रोक्ने सबैको दायित्व भएकाले त्यस्ता अवैध कार्यका सूचना नेपाल प्रहरीलाई उपलब्ध गराई सहयोग गरिदिन सबैसँग आग्रह गर्र्दै सूचना दिनेको नाम अति गोप्य रहने प्रहरी प्रमुख प्रसाईंले बताए ।
यस्तै सोमबार अपराह्न रसुवागढी नाकामा ११७.३२ ग्राम सुनसहित सिन्धुपाल्चोक सिम्पालकाप्रे–६ का चक्रबहादुर धमलालाई पक्राउ गरी कानुनी कारबाहीका लागि रसुवा भन्सार कार्यालय टिमुरेमा बुझाइसकिएको र उक्त सुनको बजार मूल्य करिब रु पाँच लाख ४० हजार रहेको जिल्ला प्रहरी कार्यालय, रसुवाले जनाएको छ ।
रसुवागढी