अर्थ कर्पोरेट स्वास्थ्य

गङ्गालालको छ महिनामा ६ करोड आम्दानी, १२ हजारको ओपन हार्ट सर्जरी

गङ्गालालको छ महिनामा ६ करोड आम्दानी, १२ हजारको ओपन हार्ट सर्जरी

माघ - १२ । सहिद गङ्गालाल राष्ट्रिय हृदय रोग केन्द्रले चालु आर्थिक वर्षको छ महिनामा ‘पेइङ सेवा ’ मा रु छ करोड आम्दानी गरेको छ । अघिल्लो वर्ष अस्पतालले रु १२ करोड बढी आम्दानी गरेको अस्पतालका कार्यकारी निर्देशक ज्योतिन्द्र शर्माले जानकारी दिए । यो रकम यो वर्ष अझै बढ्न सक्ने उनको भनाइ छ । अस्पतालमा आएमा बिरामी हेर्ने नियमित समयभन्दा अघिपछिको समयमा पनि बिरामी हेरी भएको आम्दानीलाई त्यहाँको सुधार र व्यवस्थापनका काममा खर्च गर्ने गरेको उनले बताए । सोही रकमले अस्पतालका लागि पानी, बत्ती, सरसफाइलगायत त्यहाँ कार्यरत कर्मचारीका लागि तलब भत्ताका लागि खर्च गर्ने गरेको छ । अस्पतालले १३ वर्षअघिबाट पेइङ सेवा उपलब्ध गराउँदै आएको छ । गत वर्ष पेइङ र बहिरङगमा एक लाख २५ हजार बिरामीले अस्पतालमा उपचार गराएका थिए । तीमध्ये एक हजार ५०९ जनाले शल्यक्रिया गराएका छन् । स्थापनाकालदेखि गत आर्थिक वर्षसम्ममा १८ हजारले मुटुको शल्यक्रिया गराएका छन् भने १२ हजारले ओपन हार्ट सर्जरी गराएको अस्पतालले जनाएको छ । बिरामीको चाप बढ्दै गएपछि १६० श्यया भएको अस्पतालमा ४० श्यया थप गरी गत साउनबाट २०० श्ययाको बनाइएको अस्पतालका प्रशासन प्रमुख दीपेन्द्र खड्काले जानकारी दिए। एक्कासौँ वार्षिकोत्सव मनाउने क्रममा रहेको अस्पताल विसं २०५२ मा स्थापना गरिएको थियो । अस्पतालमा देशका विभिन्न भागबाट बिरामी भएर आएका मुटुका बिरामीले निःशुल्क उपचार पाउँदै आएका छन् । सरकारले विपन्न, गरिब र मुटु रोगी भई उपचार गर्न नसक्ने अवस्थामा भएका बिरामीका लागि पनि अस्पतालमा सहुलियतको व्यवस्था गरेको छ । सरकारले विपन्न नागरिक, १५ वर्ष मुनि र ७५ वर्षमाथिका मुटुका बिरामी, मुटुको भल्व फेर्नुपर्ने बिरामीका लागि वार्षिक रुपमा रु ३१ करोड ५० लाख बढी उपलब्ध गराउँदै आएको छ । केन्द्रमा गरिब बिरामी भनी १५ वर्ष मुनिका बालबालिकाको मुटुको उपचार २०६४/६५ सालमा ७१३ बिरामीको उपचार गरेको थियो । त्यसैगरी, २०६५/६६ मा ६२७, २०६६/६७ मा ६४८, २०६७/६८ मा ७७६, २०६८/६९ मा ७२१, २०६९/ ७० मा ६६१, २०७०/७१ मा ६४७ र २०७१÷७२ सालमा ५५० जना बालबालिकाको मुटुको निःशुल्क उपचार गरेको छ । सरकारले १५ वर्ष मुनिका कुनै पनि बालबालिका उपचार नपाएर मृत्युको मुखमा जानु नपरोस् भनी २०६३ सालमा निःशुल्क उपचार गर्ने निर्णय गरेको थियो । यस्तै, सरकारले आव २०६४÷६५ मा ७५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई मुटु रोग लागेमा निःशुल्क उपचार गर्ने व्यवस्था गरेको छ । २०६४÷६५ मा ६६ जना, ७५ वर्षभन्दा माथिको ज्येष्ठ नागरिकको उपचार गरेको प्रशासन प्रमुख खड्काले बताए । सरकारले २०६४/६५ देखि २०७१÷७२ सम्म एक हजार ८१ जना ज्येष्ठ नागरिकको उपचार गरेको खड्काले जानकारी दिए । आव २०६६/६७ बाट मुटुको भल्ब साँघुरिएको बिरामीको उपचार पनि निःशुल्क गर्ने निर्णय सरकारले गरेपछि २०६६/६७ बाट आव २०७१/७२ सम्म दुई हजार ३७२ बिरामीको मुटुको भल्ब साँघुरिएको भल्ब बेलुनद्वारा फुलाउने पिटिएमसी प्रविधिबाट उपचार गरिएको छ ।
- कल्पना पौडेल

Gangalal-Hospital

विशेष