अर्थ समाज

विद्युत चोरी रोक्न २,५०० कर्मचारीको एकसाथ सरुवा

विद्युत चोरी रोक्न २,५०० कर्मचारीको एकसाथ सरुवा

माघ १३ । मिलेमतोमा हुने बिजुली चोरी नियन्त्रण गरी बढ्दो चुहावट घटाउन विद्युत प्राधिकरणले क्षेत्रीय वितरक तथा ग्राहक सेवा निर्देशनालयका करिब २ हजार ५ सय कर्मचारीलाई सरुवा गरेको छ ।

कार्यकारी निर्देशकमा कुलमान घिसिङ नियुक्त भएपछि चुहावट घटाउन आठवटै क्षेत्रीय वितरण केन्द्रलाई दिएको लक्ष्यअनुरुप काम हुन नसकेपछि कर्मचारी सरुवा गरिएको हो ।

चुहावट लक्ष्यअनुरुप नघट्नुमा एउटै वितरण केन्द्रमा कार्यरत कर्मचारीको विभिन्न उद्योग र बढी खपत गर्ने ठूला ग्राहकसितको मिलेमतो हुन सक्ने निश्कर्षमा पुगेर प्राधिकरणले ठूलो संख्यामा सरुवा गरेको हो ।

प्राधिकरणको विद्युत चुहावट २५ प्रतिशत हाराहारीमा छ ।

नयाँ ठाउँमा सरुवा भएर जाँदा कर्मचारीको पुरानो कनेक्सन टुट्ने र नयाँ ठाउँमा बढी बिजुली खपत गर्ने ठूला ग्राहकसँग नाजायज सम्बन्ध बनाउन समय लाग्ने भएकाले चुहावट घट्ने प्राधिकरणका एक उच्च अधिकारीले बताए । ती अधिकारीका अनुसार सरुवा भएकामा २२ वर्षदेखि एकै ठाउँमा रहेका कर्मचारीसमेत छन् ।

कांग्रेस र एमाले निकट कर्मचारी संगठनहरुले ठूलो संख्यामा भएको सरुवाको विरोध गर्दै बुधबारै कार्यकारी निर्देशक घिसिङ र उपकार्यकारी निर्देशक गोपालबाबु भट्टराईको कार्यकक्ष घेराउ गरेका थिए । उनीहरुले ‘राजनीतिक पूर्वाग्रह’ आधारमा गरिएको सरुवा नसच्चिएसम्म विरोध जारी राख्ने बताएका छन् ।

कान्तिपुर

Kulman Ghising

विशेष