पर्यटन

पर्यटकको मन लोभ्याउँदै हसिना सिमसार

पर्यटकको मन लोभ्याउँदै हसिना सिमसार
माघ १३ । उत्तरी मोरङको सुन्दर दुलारी नगरपालिका–५ स्थित हसिना सिमसार क्षेत्र पछिल्लो पटक धार्मिक पर्यटन क्षेत्रका रुपमा विकास भइरहेको छ । मोरङको सुन्दरदुलारीस्थित महेन्द्र राजमार्गमा पर्ने बाँसबारी चोकबाट करिब पाँच किलोमिटर उत्तर लागेपछि सो स्थानमा पुग्न सकिन्छ । सो सिमसार क्षेत्र करिब ७५ बिघा क्षेत्रफलमा फैलिएको छ । बहुसंख्यक देवीदेवताका मन्दिर, विभिन्न प्रजातिका वनस्पति, जीवजन्तु, र पशुपन्छीको बासस्थानसमेत रहेको सो क्षेत्र पर्यटकीय क्षेत्र मात्र नभै वनभोज, अध्ययन–अनुसन्धान र अवलोकनका लागिसमेत उत्तिकै उपयोगी रहेको छ । सो क्षेत्रमा नेपाल पर्यटन बोर्ड र जिविस मोरङले पनि बजेट उपलब्ध गराएपछि हालसम्म एउटा कलात्मक पानी ट्यांकी, शान्तिका अग्रदूत बुद्धको जन्मेदेखि मृत्यु सम्मका विभिन्न अवस्था समेटिएको पूर्वाञ्चलकै ठूलो बुद्धको प्रतिमा र सो क्षेत्रको पोखरीमा डुंगा सञ्चालन गर्ने तयारी समेत भइरहेको छ । आकर्षक प्रवेशद्वार, विभिन्न कलात्मक शान्तिको प्रतीक परेवाको प्रतिमा, विश्व मानचित्रको प्रतिमा, बुद्धको प्रतिमा, नागपोखरीमा नागको प्रतिमालगायत निर्माण भइसकेकाले त्यहाँ पुग्ने जो कोहीको पनि मन लोभ्याउँछ । जिविस, पर्यटन बोर्ड, सुन्दरदुलारी नगरपालिका, स्थानीयवासी लगायतको सहयोगमा सो क्षेत्र यतिखेर एक अनुपम पर्यटकीय गन्तव्यका रुपमा विकास भइरहेको संरक्षण समितिका सदस्य मिलन राईले जानकारी दिए । सुनसरीबाट सो क्षेत्र घुम्नका लागि आएका सुभाष कोइरालाले केही वर्ष अघिको तुलनामा अहिले हसिना सिमसार क्षेत्र निकै व्यवस्थित बनेको र आगामी दिनमा पनि राज्यले थप लगानी गरी सो पर्यटकीय क्षेत्रको विकासमा सहयोगलाइ निरन्तरता दिनुपर्ने बताए ।

simsar

विशेष