अपराध सुरक्षा

बर्दियाः महिलालाई भारत हुँदै विदेश लैजान खोज्ने ४ पक्राउ, ६ महिलाको उद्धार

बर्दियाः महिलालाई भारत हुँदै विदेश लैजान खोज्ने ४ पक्राउ, ६ महिलाको उद्धार

माघ - १८ । अवैधानिक ढंगबाट भारत हुँदै खाडी मुलुक लैजान लागिएका ६ जना महिलालाई बर्दिया प्रहरीले उद्धार गरेको छ भने महिलालाई कुवेत र दुबई पठाउने कार्यमा संलग्न रहेको अभियोगमा  ४ जनालाई पक्राउ गरेको छ । निःशुल्क भिसाको वाहानामा भारतको राजधानी दिल्ली हुँदै कुवेत र दुवई लैजाने तयारीमा रहेका ६ जना नेपाली महिलालाई बर्दियाको कालिकाको कर्णालीपुरबाट उद्धार गरे लगत्तै प्रहरीले ४ जनालाई पक्राउ गरेको मंगलवार पत्रकार सम्मेलन गरी प्रहरीले जनाएको छ । यसै घटनामा संलग्न एकजना फरार छन् । युवतीलाई कुवेत र दुवई पुर्याउने खाेज्ने सुर्खेत घुमखहरे ७ का ५८ बर्षीय मानबहादुर वली, सिन्धुपाल्चोक धुमथाङ्ग २ का ३४ बर्षीय पोक्चे तामाङ्गलाई प्रहरीले पक्राउ गरेको हाे । यसैगरी म्याग्दी झम्किली ६ का ४३ बर्षीय धनवीर पुन, बर्दिया खैरीचन्दनपुर ४ का ३७ बर्षीय रतनबहादुर विकलाई प्रहरीले पक्राउ गरेको छ । ढोढरी ५ का ३७ वर्षीय अर्जुन विक फरार रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । प्रहरीले उद्धार गरेकाहरुमा झापाकी २३ बर्षीया, मकवानपुरकी १६ बर्षीया, भोजपुरकी ३२ बर्षीया, झापाकी २५ बर्षीया, सल्यानकी ४१ बर्षीया र सप्तरीकी २८ बर्षीया युवती रहेको बर्दियाका प्रहरी उपरिक्षक भरत बहादुर बाहोराले जानकारी दिए । इलाका प्रहरी कार्यालय मैनापोखर बर्दियाका प्रहरी निरीक्षक देवेन्द्रबहादुर मल्लको कमाण्डमा रहेको गस्ती टोलीले भारतीय सीमा वलैगाउँ लैजाने क्रममा कालिका ९ कर्णालीपुरबाट युवतीको उद्धार गरेको हो । उनीहरुले कसैलाई साली, कसैलाई श्रीमती, कसैलाई बुहारी नाता लगाएर नेपाल भारत सीमा पार गराउने र बैदेशीक रोजगारमा खाडी मुलुक लैजान लागेको प्रहरीको अनुसन्धानबाट खुल्न आएको छ ।
भावुक योगी / बर्दिया

woman trafficking बर्दिया प्रहरी

विशेष