अपराध सुरक्षा

दश हजार घुस खाने मालपोत हाकिम यसरी समातिए

दश हजार घुस खाने मालपोत हाकिम यसरी समातिए

बागलुङ । जिल्ला मालपोत कार्यालय बागलुङका प्रमुख विश्वनाथ शर्मा सेवाग्राहीबाट घुस लिँदै गर्दा रङ्गेहात पक्राउ परेका छन् । सेवाग्राहीबाट नगद दस हजार रुपैयाँ घुस लिँदै गर्दा उनलाई अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय पोखराले पक्राउ गरेको हो ।

अख्तियारको टोलीले सेवाग्राहीसँग शर्माले घुस मागेको थाहा पाएपछि बिहीबार साँझ छापा मारेका थियो । घुस मागेको पूर्व सूचनाको आधारमा अख्तियारको टोलीले शर्मालाई रङ्गेहात पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय पोखराका सूचना अधिकारी रमेश ढकालले जानकारी दिए ।

‘मालपोत कार्यालय प्रमुखले कार्यालयबाट प्रदान गर्ने सेवाका लागि रकम माग गरेको भन्ने उजुरी हाम्रो कार्यालयमा आएपछि हामीले छापा मारेका हौं,’ ढकालले भने, ‘हामीले नै सेवाग्राहीलाई घुस दिने रकम १० हजार दिएर पठाएका थियौं । त्यो रकम शर्माबाट बरामद भएको छ ।’

जग्गा रजिष्ट्रेशन पास गर्ने भनी शर्माले सेवाग्राहीबाट नगद १० हजार रुपैँया मागेका थिए । त्यस पश्चात सेवाग्राहीले अख्तियारमा उजुरी दिएको बताएका छन् । मालपोत कार्यालय बागलुङका प्रमुख एवं शर्माकै कार्यकक्षमा घुस लिदैँगर्दा पक्राउ गरिएको बताइएको छ ।

आयोगले नम्बर टिपेर पठाएको १० हजार रुपैँया शर्माबाट बरामद गरिएको हो । सूचना अधिकारी ढकालले कानुनी कारबाही र थप अनुसन्धानका लागि शर्मालाई पोखरा लगिएको जानकारी दिए ।

विशेष