अपराध सुरक्षा

यसरी समातिए अनुज थापा, जसले एक जापानीलाई ६ करोड ठगे

यसरी समातिए अनुज थापा, जसले एक जापानीलाई ६ करोड ठगे


काठमाडौं । गैरआवासीय नेपाली संघ एनआरएनएको आठौं विश्व सम्मेलनमा सहभागी हुन आएका एनआरएनका आईसीसी सदस्य अनुज थापा पक्राउ परेका छन् ।

ठगी मुद्दामा उजुरी परेपछि महानगरीय प्रहरी परिसर काठमाडौंले उनलाई लैनचौरबाट पक्राउ गरेको हो। थापामाथि जापानी प्रोफेसर यामामोतो हिराकुको ६ करोड रुपैयाँ ठगेको आरोप छ । एनआरएनको एक कार्यक्रममा सहभागी भइरहेका बेला परिसरबाट खटिएको टोलीले थापालाई पक्राउ गरेको हो । परिसरका प्रमुख एसएसपी रवीन्द्रसिंह धानुकका अनुसार काठमाडौं जिल्ला अदालतबाट न्यायिक हिरासतमा राख्ने अनुमति लिई ठगी अभियोगमा अनुसन्धान सुरु गरिसकिएको छ । जापानमा रेष्टुरेण्ट व्यवसाय गर्ने थापाले प्रोफेसर हिराकुलाई नेपालमा शिक्षाका अवस्था दयनीय रहेको भन्दै स्कुल खोल्नका निम्ति आर्थिक सहायता लिएका थिए । प्रहरीका अनुसार थापाले स्कुल निर्माणका लागि भन्दै ६ करोड रुपैयाँ लिएलगत्तै प्रोफेसर हिराकुसँग सम्पर्क बाहिर रहेका थिए ।

सम्झौता अनुसार स्कुल नबनाई उनले निजी घर गाडी खरिद गरेका थिए । स्कुल निर्माण भएको झुटो आश्वासन दिँदै आएका थापाले स्कुलबारे कुनै प्रगति विवरण नदिएपछि प्रोफेसर हिराकु आफूमाथि विश्वासघात भएको र रकम ठगिएको निष्कर्षमा पुगेका थिए । प्रोफेसर हिराकुले आफ्नो रकम फिर्ता दिन वा स्कुलको अवस्थाबारे बताउन आग्रह गरेपछि थापा जापानको रेष्टुरेण्ट भाडामा लगाएर बीचको केही समय नेपाल फर्केका थिए ।

बारम्बार झुक्काउँदै हिँडिरहेका थापालाई पक्रिन हिराकुले लामो समयदेखि प्रयत्न गरिरहेका थिए । एनआरएन सम्मेलनमा भाग लिन थापा नेपाल आएको थाहा पाएर प्रोफेसर हिराकुले प्रहरी परिसर काठमाडौंमा जाहेरी दरखास्त दिएका थिए । त्यसैका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो।
कान्तिपुर

विशेष