अर्थ

मासु र अण्डा आपुर्तीवाट पोषण सुधार गर्न साना ह्याचरीबाट चल्ला उत्पादन

मासु र अण्डा आपुर्तीवाट पोषण सुधार गर्न साना ह्याचरीबाट चल्ला उत्पादन

जाजरकोट ।

भेरी नगरपालिका–३ खलंगामा पहिलो पटक साना ह्याचरी मेसीनबाट चल्ला उत्पादन भएका छन् । नागरिक कृषि तथा पशुपालन सहकारी संस्था लिमीटेडले उक्त ह्याचरी स्थापना गरेर चल्ला उत्पादन कार्य गरेको हो ।

जिल्ला पशु सेवा कार्यालय अन्तरगतको कृषि तथा खाद्य सुरक्षा कार्यक्रम आयोजनाको आर्थिक सहयोगमा साना ह्याचरी संचालन भएको हो । ह्याचरीबाट पहिलो लटमा १ सय ५० वटा लेस जातका चल्ला उत्पादन भएका छन् ।

स्थानीय स्तरमा चल्ला उत्पादन गरेर किसानको आय बृद्धी गर्न र स्वच्छ मासु तथा अण्डाको आपुर्तीले पोषण सुधारमा सघाउ पुर्याउने उदेश्यले ह्याचरी स्थापना गरीएको हो । ह्याचरीबाट उत्पादीत कुखुरा पालन व्यवसायबाट ग्रामीण क्षेत्रका गरीव किसानको आय आर्जनमा टेवा पुग्ने भएको छ । आयोजनाको ६ लाख लगानीमा सोलार विद्युतबाट संचालन हुने एक साना ह्याचरी यस जिल्लामा पहिलो पटक स्थापना गरेर चल्ला उत्पादन भैसकेको कार्यालयका बरिष्ठ पशु विकास अधिकृत सुमिन्द्र यादवले बताए ।

ह्याचरीबाट २१ दिनको सेटमा १ सय ८० चल्ला उत्पादन हुने गरेका छन् । ह्याचरीबाट १ बर्षमा ५ हजार चल्ला उत्पादन गरेर नागरिक कृषि तथा पशुपालन सहकारी संस्था मार्फत किसानलाई वितरण गर्ने लक्ष्य रहेको यादवले बताए । ह्याचरीमा आवश्यक पर्ने अण्डाका लागि बस्नेत कुखुरा पालन फर्म कालेगाउसँग सम्झौता गरीएको यादवले बताए । ‘बस्नेत कुखुरा पालन फर्मले २१ दिनको फरकमा २ सय अण्डा उप्लब्ध गराउनेछ,’ उनले भने ।

जिल्ला पशु सेवा कार्यालयका साथै कृषि तथा खाद्य सुरक्षा कार्यक्रम आयोजनाले त्यहाँका सयौं किसानलाई साना अनुदान कार्यक्रम अन्तरगत कुखुरा पालन, बाख्रापालन लगाएत दर्जनौं योजना वितरण गरेको यादवले बताए । आयोजनाले हरेक बर्ष ५ देखि १० हजार चल्ला वितरण गर्दै आएको उनले बताए ।

यस जिल्लाका किसानमा कुखुरा पालन तर्फ आर्कषण बढेको उनको भनाई छ । यो साना ह्याचरीको सफल परीक्षण पछि आगामी दिनमा ठुला ह्याचरी ब्यबसाय संचालनमा पहल गर्ने योजना रहेको उनले बताए । चल्ला पालनका लागि किसानको माग बढ्दो भएको उनले बताए । खसीको मासु उत्पादनमा यो जिल्ला आत्मनिर्भर भएको र केहि बर्ष पछि कुखुराको मासु तथा अण्डामा पनि आत्मनिर्भर हुने देखिएको यादवले बताए ।

 

Hatchery

विशेष