अपराध सुरक्षा

चिम्पान्जी र बाँदरको तस्करी गरेको अभियोगमा ६ जना पक्राउ

चिम्पान्जी र बाँदरको तस्करी गरेको अभियोगमा ६ जना पक्राउ

काठमाडौं । चरासहित दुर्लभ चिम्पान्जी र बाँदर तस्करी गरेको अभियोगमा जिल्ला वन कार्यालय काठमाडौंले ६ जनालाई हिरासतमा राखेर अनुसन्धान अघि बढाएको छ ।

दुई नेपाली, तीन भारतीय र एक पाकिस्तानी नागरिकमाथि वन्यजन्तु र चरा ओसार पसार गरेको अभियोगमा अनुसन्धान सुरु गरेको जिल्ला वन अधिकृत डीएफओ इन्द्रप्रसाद सापकोटाले बताउनुभयो । बारा डुमरबाना स्थायी घर भई कपन बस्दै आएका ४२ वर्षिय राजकुमार तिवारी, पाकिस्तान कराँचीका ५५ वर्षिय जावेद अस्लम खान, भारत लखनउका ३५ वर्षिय चाँद बाबु मोहम्मद शरीफ, भारत बिहार पटनाका ५४ वर्षीय मोहम्मद फइम र ३४ वर्षीय मोहम्मद उश्मान तथा चराचुरुङी र वन्यजन्तु राखिएको काठमाडौं बाँसबारीका ४० वर्षिय सञ्जीव भारीलाई हिरासतमा राखी अनुसन्धान अघि बढाइएको जिल्ला वन कार्यालय काठमाडौंले जनाएको छ ।

नाईजेरियाबाट नेपाल हुँदै भारत निकासी गर्ने तयारीमा रहेका २ वटा चिम्पाञ्जी, ८ वटा बाँदर, ७ वटा गोल्डेन फेजन र २ वटा रिङनेट चरा, ३८ वटा परेवा तथा ६५ वटा सुगाको जिवितै उद्धार गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका ६ जना मध्ये मोहम्मद उश्मान पटक–पटक वन्यजन्तु तस्करीमा समातिएर कारबाही भोगेका व्यक्ति हुन् । उनीहरुबारे अनुसन्धान गर्न वन कार्यालयले सहायक वन अधिकृत उत्सव थापालाई जिम्मेवारी दिएको छ ।

उनीहरुले त्रिभुवन विमानस्थलबाट हिजो २ वटा चिम्पान्जी, नेपालमा नपाईने प्रजातिका पाँच वटा बाँदर र चरासहित सेटिङ मिलाएर भारीको घरमा लगेका थिए । प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले तीन वन्यजन्तुसहित ६ जनालाई हिजै नियन्त्रणमा लिएको हो । सीआईबीले  वन्यजन्तुसहित उनीहरुलाई वन कार्यालय काठमाडौं बुझाएको डीएसपी अनुपम राणाले बताउनुभयो । चिम्पान्जी र बाँदरको प्रजाति अनुसन्धान गर्न ती वन्यजन्तुलाई प्रहरीले  चिडियाखाना पठाइएको छ ।

विशेष