किसानको मौरीपालनमा आकर्षण बढ्दै
तेह्रथुम । प्रशस्तै डाँडाकाँडा र रुख बिरुवाले ढाकेको पूर्वी पहाडी जिल्ला तेह्रथुममा मौरीपालन व्यवसाय फस्टाउन थालेको छ ।
फुर्सदको समयमा रेखदेख गरे पुग्ने र अन्य व्यवसायमा लागेकाले पनि सजिलै पाल्न सक्ने भएकाले जिल्लाका गाउँदेखि सहरसम्मका किसानले मौरीपालन गरिरहेका छन् ।
महको बजार अभाव नभएको र मौरीगोलाको समेत अत्यधिक माग रहेकाले किसानले अन्य पेसा व्यवसायसँंगै मौरीपालन पनि गरेका हुन् । अघिल्लो वर्ष सरकारले देशका ६५ जिल्लामा एकैपटक युवा लक्षित कार्यक्रम अन्तर्गत मौरीपालन व्यवसायमा ठूलो रकम लगानी गर्यो । तर तेह्रथुमलाई मौरीपालनका लागि सरकारले छनोट गरेन । सरकारीस्तरको कुनै पनि सहयोग नपाएरै पनि यहाँका किसानले मौरीपालनलाई व्यावसायिक समेत बनाएका छन् ।
यस व्यवसायमा धेरै सम्भावना हुँदाहुँदै पनि सरकारले हामीहरुलाई उपेक्षा गरेको वसन्तपुरका मौरीपालक किसान चन्द्र कार्कीले बताए । व्यावसायिक मौरीपालनमा राम्रो सम्भावना देखिएपछि ओख्रेका किसान नोचन्द्र पौडेलले पनि सेरेना जातको मौरी पाल्न थालेका छन् ।
पराम्परागत रूपमा मौरी पाल्दै आएका पौडेलले अहिले २५ थान आधुनिक घार बनाएर मौरी पालेका हुन् । यो व्यवसायमा जिल्ला राम्रोसँग फष्टाएकाले त्यसका लागि किसानलाई तालीम, लगानीका लागि सस्तो ब्याजमा ऋण र अनुदानको व्यवस्था हुनुपर्नेमा कुनै पनि सरकारी या गैरसरकारी संस्थाले नसघाएकोे उनले गुनासो गरे ।
थोरै मात्र सरकारी सहयोग भए जिल्लामा व्यावसायिक मौरीपालन फस्टाउने साना किसान कृषि सहकारी संस्था वसन्तपुरका अध्यक्ष चित्रबहादुर कार्कीले जोड दिए । उक्त सहकारी मार्फत ३० जनाभन्दा बढी स्थानीय किसानले व्यावसायिक मौरीपालन गरिरहेका छन् ।
यस व्यवसायमा किसानको उत्साह, मेहनत र लगानी देखेर जिल्लामा काम गरिरहेको नेपाल ग्रामीण पुनःनिर्माण संस्था (आरआरएन) र बहुसरोकारवाला वन कार्यक्रम (एमएसएफपी) ले लालीगुराँस नगरपालिकाको वसन्तपुरमा मौरीपालक किसानलाई मौरीका गोला र मौरीजन्य उपकरण वितरण गरेर व्यावसायिक मौरीपालनको अभियान नै चलाएको छ ।
यहाँका ३० भन्दा बढी मौरीपालक किसान छनोट गरी उनीहरूको समेत न्यून लागतमा करिब रू छ लाख बराबरको मौरीका गोला र मौरीजन्य उपकरण वितरण गरिएको आरआरएनका जिल्ला संयोजक सुमित गौतमले बताए ।
मौरीपालक किसानलाई तालीम, क्षमता विकास र मौरीपालन गर्दा आइपर्ने समस्याका बारेमा साना किसान कृषि सहकारी संस्थाले नै प्रशिक्षण दिँदै आएको संस्थाका अध्यक्ष कार्कीले बताए ।
सेरेना जातका मौरीका लागि उपयुक्त हावापानी, भौगोलिक वातावरण र चरन आवश्यक हुने भएकाले जिल्लामा मौरीपालन व्यवसायको प्रचुर सम्भावना रहेको जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत रोहिणीराज घिमिरेले बताए ।
कार्यालयका अनुसार जिल्लामा मुढे, खोपे, अन्य परम्परागत र आधुनिक घारमा समेत गरी १५ हजार थान भन्दा बढी घारमा किसानले मौरी पालेका छन् । पूर्वी तराईमा मौरीपालनका लागि चरन क्षेत्रको अभाव भएको भन्दै व्यावसायिक मौरीपालक कृषक मौरी चराउनका लागि हिउँद नलाग्दैदेखि पहाडतिर चढ्दै यहाँको तीनजुरे क्षेत्रको जंगलमा समेत आइपुग्ने गरेका छन् ।
वर्षेनी हुलका हुल मौरीसहितका घार लिएर चराउन आउनेले ठूलो परिश्रम बिना नै मौरीबाट प्रशस्त आम्दानी लिएको देखेपछि जिल्लाका अन्य किसानलाई पनि प्रेरणा मिलेको छ ।
पूर्वी तराईमा भइरहेको औद्योगिक प्रदूषण र बालीनालीमा विषादीको अत्यधिक प्रयोगका कारण मौरीलाई चरनको समस्या भएको झापाको सुरुङगाबाट मौरी चराउन यहाँ आएका किसान कृष्ण अधिकारीले बताए ।
पूर्वी तराईमा लामो समयदेखि पानी नपरेका कारण बोटबिरुवा पर्याप्त नफुल्दा मौरीलाई चरन अभाव भएको अधिकारीले बताए । स्वच्छ वातावरण रहेको यहाँको पहाडी वनमा तराईका झापा, मोरङ र सुनसरीलगायत जिल्लाका दर्जनौँ किसानले मौरी चराउन ल्याउने गरेका छन् ।
honeybee farm