अर्थ

कञ्चनपुरका इँटा व्यवसाय धराशायी अवस्थमा

कञ्चनपुरका इँटा व्यवसाय धराशायी अवस्थमा

कञ्चनपुर । इँटा बिक्री नहुँदा कञ्चनपुरका इँटा व्यवसायी चिन्तित भएका छन् । 

वर्षा अघि बिक्रीका लागि तयार गरिएका इँटा वर्षदिन हुनलाग्दा पनि बिक्री हुन सकेका छैनन् । जिल्लाको दक्षिणी क्षेत्रमा मात्रै करिब तीन करोड इँटा बिक्री हुन बाँकी छ । जिल्लाभर ३५ वटा इँटा उद्योगमध्ये दुई दर्जन भट्टा दक्षिणी क्षेत्रअन्तर्गत रहेका छन् । 

इँटा व्यवसायी संघका अध्यक्ष कृष्णबहादुर तामाङले सबै उद्योगमा ५० देखि ६० लाख इँटा बिक्री हुन बाँकी रहेको बताए । 

इँटा निर्माण गर्दा लाग्ने मजदुर खर्च, कच्चा पदार्थ खरिद, इन्धन खर्च सरकारी कर गरी वास्तविक इँटाको मूल्यांकन गर्दा प्रतिइँटा रु आठभन्दा बढी पर्न जान्छ भने आर्थिकमन्दी र व्यापारिक प्रतिस्पर्धाले रु आठभन्दा पनि कम मूल्यमा बिक्री गर्नुपरेको जगदम्बा इँटा उद्योगका सञ्चालक रमेश विष्टले बताए । 

इँटा व्यवसायी संघले प्रति अब्बल इँटाको रू १० कायम गरेको छ तर बिक्रीको अभावमा कम मूल्यमा बिक्री गर्न पनि इँटा व्यवसायीबीच प्रतिस्पर्धा गर्नुपरेको उद्यमी बताउँछन् । विष्टको इँटाभट्टामा अहिले ४० लाख इँटा छन् । इँटा बिक्री नभएपछि साहुको ऋण, बैंकको साँवा ब्याज कसरी तिर्ने भन्ने चिन्ता रहेको उनले बताए । 

पुनर्वासका पुराना इँटा उद्यमी यमबहादुर तामाङ ३० लाख इँटा बिक्री नहुँदा लगानी डुब्ने अवस्थामा पुगेको बताउँछन् । इँटा बिक्रीमा कमी आउनु आर्थिकमन्दी मात्रै नभएर जिल्लाभर बिना इजाजत प्राप्त भुसे भट्टाको सस्तो इँटाले पनि व्यवसायी मारमा परेका छन् । 

जय माँ इँटा उद्योगका सञ्चालक सुरेन्द्र साहुले भुसे भट्टाले थप मारमा परेको बताए । जिल्लाभरि करिब ३० भुसे भट्टा छन् । नेपाल इँटा व्यवसायी संघका केन्द्रीय सहकोषाध्यक्ष वीरबल विश्वकर्माले अवैधानिक रूपमा सञ्चालित भुसे भट्टालाई प्रतिबन्ध लगाउनका लागि जिल्लास्थित सम्बन्धित निकायमा पटकपटक माग गर्दासमेत सुनुवाइ नभएको बताए । 

सरकारी मापदण्डअनुरुप पत्थर कोइलाबाट इँटा बनाउँछौँ यसरी तयार गरिएको इँटाको मूल्यांकन गर्दा प्रतिइँटा आठभन्दा बढी पर्न जान्छ तर भुसे भट्टाबाट तयार गरिएका इँटा पाँच–छ भन्दा पनि कम मूल्यमा बिक्री हुने भएकाले व्यवसायी धरायशी हुन अवस्थामा पुगेका हुन् । 

udhyog brick

विशेष