अपराध सुरक्षा

किन दिए डीआईजी रमेश खरेलले अकस्मात राजिनामा ? फेसबुकमार्फत राजिनामाको जानकारी

किन दिए डीआईजी रमेश खरेलले अकस्मात राजिनामा ? फेसबुकमार्फत राजिनामाको जानकारी

काठमाडौं । नेपाल प्रहरीका नायव महानिरीक्षक (डीआईजी) रमेश खरेलले सान, दाम र प्रतिष्ठाका रुपमा हेरिने संयुक्त राष्ट्रसंघको प्रहरी एकाइ फिल्ड कमान्डरबाट राजिनामा दिएका छन् । ३० वर्षे सेवा अवधिको हद कायमै रहे हालका प्रहरी महानिरीक्षक प्रकाश अर्यालसहित उनको ब्याचका सबै अधिकृत आगामी २९ चैतदेखि अनिवार्य अवकाशमा जाने र त्यसपछि खरेलकै व्याची डीआईजीहरुबाट एक जना महानिरीक्षक बन्ने भएकाले उनको राजिनामालाई भावी प्रहरी प्रमुख बन्ने दौडका रुपमा हेरिएको छ । भावी महानिरीक्षकको दौडमा क्रमशः सर्वेन्द्र खनाल, खरेल, पुष्कर कार्कीलगायत अगाडि छन् । एसएसपीसम्म खरेल नै एक नम्बरमा भएपनि प्रहरीभित्र चतुर खेलाडीका रुपमा हेरिने सर्वेन्द्र खनालले उनी मिसनमा भएको मौका पारी एक नम्बर डीआईजीमा बढुवा हुन सफल भएकाले पनि उनले राजिनामा दिएको हुनसक्ने अनुमान गरिएको छ ।

खासमा उनले दुई वर्षका लागि उक्त जिम्मेवारी पाएका थिए । तर यसलाई चार वर्षसम्म लम्ब्याउन सहजै सकिन्थ्यो । खरेल १८ महिनाअघि संयुक्त राष्ट्रसंघको प्रहरी एकाइमा फिल्ड कमान्डर बनेर गएका थिए । उनी एसएसपीका रुपमा त्यहाँ गएको भएपनि डीआईजी बनेको तीन महिना हुन लागेको छ ।

सुडानको डार्फरस्थित राष्ट्रसंघीय मिसन (यूएनएएमआईडी)मा पी४ अधिकृतका रुपमा कार्यरत रहेका उनले फेसबुक स्टाटसमार्फत् राष्ट्रसंघीय जिम्मेवारीबाट राजीनामा दिएको जानकारी गराएका हुन् । उक्त जिम्मेवारीका क्रममा आफूले ४२ मुलुकका चार सय प्रहरी अधिकृतलाई ‘कमान्ड’ गर्ने अवसर पाएको उनले उल्लेख गरेका छन् ।

‘यस्तो विशिष्ट अवसर प्रदान गरिदिएकामा नेपाल प्रहरी, गृह मन्त्रालय, नेपाल सरकार र संयुक्त राष्ट्रसंघप्रति आभारी छु,’ उनको फेसबुक स्टाटसमा उल्लेख छ, ‘र, द्वन्द्वग्रस्त क्षेत्रमा काम गर्ने अवसर दिने सबैप्रति कृतज्ञ छु ।’
खरेल १ फागुन ०४५ मा खेलाडीका रुपमा प्रहरी सेवामा प्रवेश गरेका थिए ।

विशेष