पर्यटन

अन्नपूर्ण आधार शिविरमा महोत्सव हुने

अन्नपूर्ण आधार शिविरमा महोत्सव हुने

पोखरा । अन्नपूर्ण क्षेत्रको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले आगामी असोज २५ गतेदेखि अन्नपूर्ण आधार शिविरमा महोत्सव हुने भएको छ ।

विभिन्न तीन चरणमा हुन लागेको महोत्सवअन्तर्गत् आगामी असोज २५ गते पहिलो चरणको महोत्सव गर्न लागेको आयोजक समितिका संयोजक ललित गुरुङले जानकारी दिए ।

अन्नपूर्ण गाउँपालिकासहित विभिन्न संघ–संस्थाको सहयोगमा हुने महोत्सवको दोस्रो चरण आगामी पुस १० गतेदेखि १५ गतेसम्म पर्यटकीय गाउँ छाम्रोङमा र तेस्रो चरण २०७५ जेठ १८ देखि २० गतेसम्म पर्यटकीय गाउँ घान्द्रुकमा हुने जनाइएको छ ।

प्रथम चरणको तयारी अन्तिम चरणमा पुगेको अन्नपूर्ण गाउँपालिकाका कार्यकारी अधिकृत खेमराज देवकोटाले बताए ।समुद्र सतहदेखि ४१ सय ३० मिटरमा अवस्थित अन्नपूर्ण आधार शिविर पदयात्रामार्गमा नेपाल आउने विदेशी पर्यटकमध्ये ७० प्रतिशतले पदयात्रा गर्ने गरेका छन् ।

यस्तै, १० प्रतिशतले हिमाल आरोहण र २० प्रतिशत अरु पर्यटक यस क्षेत्रको भ्रमणमा आउने गरेको तथ्यांक रहेको छ । अन्नपूर्ण हिमाल र यस आसपासको सात हजार ६२९ वर्गकिलोमिटरलाई अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनामार्फत् संरक्षण गरेर राखिएको छ ।

जसअन्तर्गत् मनाङ र मुस्ताङ जिल्लासहित म्याग्दीका तीन, कास्कीका १७ र लमजुङका साविक ८ गाविस संरक्षण क्षेत्रभित्र छन् ।

विशेष