भूकम्प पीडितलाई तीनलाख निर्बयाजी ऋण दिने सरकारको निर्णय
काठमाडौं । २०७२ वैशाख १२ र त्यसपछि गएका भुकम्पले घर भत्किएका पीडितले अब सामूहिक जमानीमा ३ लाख रुपैयाँ निर्बयाजी ऋण पाउने भएका छन् ।
आज बसेको मन्त्रिपरिषद बैठकले सामूहिक जमानीमा भूकम्प पीडितलाई ऋण उपलब्ध गराउन बाधा गरिरहेको कार्यविधि संशोधन गरेको हो । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बसेको बैठकले कार्यविधि संशोधन गरी ऋण लिन सहज बनाउने निर्णय गरेको हो ।
भुकम्प पीडितले धितो र सामूहिक जमानीबाट निर्ब्याजी ऋण पाउने गरी कार्यविधि संशोधन गर्ने निर्णय भएको सञ्चार मन्त्री एवं सरकारका प्रवक्ता मोहनबहादुर बस्नेतले जानकारी दिए ।
न्यून आय भएका साना किसान, मजदुर, भूमिहीन जस्ता गरिब तथा विपन्न परिवारलाई प्राथमिकतामा राखेर ऋण आवश्यक हुने सबैलाई सुविधा उपलब्ध गराइनेछ। भूकम्प पीडितहरुले नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त क, ख, ग, र घ वर्गका बैंक तथा वित्तिय संस्थाबाट निर्ब्याजी कर्जा लिन सक्नेछन् ।
त्यस्तै, मन्त्रिपरिषद बैठकले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको दरबन्दी स्वीकृत गरेको छ।
संसदले यही २० गते राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग सम्बन्धी विधेयक पारित गरेको थियो। मन्त्रिपरिषद बैठकले प्राकृतिक स्रोत तथा वित्त आयोगको दरबन्दी, संगठन र संरचना स्वीकृत गरेको हो ।