अपराध सुरक्षा भिडियो

आईजीपी पदलाई कसैले इन्द्रआसन ठान्नु हुँदैन : पूर्वएआईजी (भिडियोसहित)

आईजीपी पदलाई कसैले इन्द्रआसन ठान्नु हुँदैन : पूर्वएआईजी (भिडियोसहित)

काठमाडौं । डा. कृष्णकुमार (केके) तामाङ सशस्त्र प्रहरी बलका पूर्व अतिरिक्त महानिरीक्षक हुन् । ३ फागुन २०७३ मा सेवाबाट अवकाश पाएका पूर्व एआईजी तामाङ अहिले गेष्ट लेक्चररको रुपमा कार्यरत छन् । विकट पहाडी जिल्ला रामेछापको अत्यन्तै विकट ठाउँ दोरम्बामा जन्मेका तामाङ मिलनसार र भद्र स्वभावका मानिन्छन् ।

तत्कालीन सशस्त्र प्रहरी महानिरीक्षक कोषराज वन्तमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्धा चलाएपछि ३ पुस २०७२ मा दुर्जकुमार राई आईजीपी बनेका थिए । हुन त वरीयतामा तामाङभन्दा राई नै अगाडि थिए । तर राई जनआन्दोलनका दोषी थिए । उनलाई आईजीपी बनाउन हुँदैन भन्नेमा ठूलो पंक्ति पनि थियो । यो स्थितिमा तामाङलाई नै भावी आईजीपीको रुपमा हेरिएको थियो । तर भयो अर्कै, राई सुरुमा कार्यवाहक आईजीपी बने । वन्तको कार्यकाल २८ चैत २०७२ सम्म थियो । २०७३ सालको तेस्रो सातासम्म पनि राईलाई ‘कन्फर्म’ आईजीपी नबनाइएपछि फेरी तामाङको चर्चा सुरु भयो । तर राईलाई नै कन्फर्म आईजीपी बनाइएपछि आईजीपी बन्ने उनको सपना सपना नै बन्यो ।

तर तामाङलाई आईजीपी बन्न नसकेकोमा कुनै दुःख मनाउ छैन । भन्छन्, ‘लामो समय प्रहरी सेवामा काम गरेको म, पछि सशस्त्र प्रहरी बलमा स्थानान्तरण भएँ । संगठन प्रमुख बन्न कसलाई चाहिँ मन लाग्दैन र ? तर म भइन, राईजी बन्नु भयो, यो एउटा नियमित प्रक्रिया हो, म आईजीपी बन्न सकिन, तर मलाई कुनै दुःख मनाउ छैन ।’

पूर्व एआईजी तामाङ थप्छन्, ‘यसमा गुनासो गर्ने या कुनै आलोचना गर्ने ठाउँ रहँदैन । फौजको संख्या ३६ हजार छ । सबैले शीर्ष स्थान पाउने कल्पना र विचार राखे भन्दैमा सबैलाइै त्यो ओहोदा प्राप्त हुने सौभाग्य हुँदैन । जसले पायो त्यसले इन्द्र आसन नै पायो भन्ने पनि ठान्नु हुँदैन । हामी राष्ट्रसेवक कर्मचारी हौं । त्यसकारण कुनै गुनासो छैन ।’

पूर्व सशस्त्र प्रहरी महानिरीक्षक राईको कार्यकालमा संगठन १० वर्षपछि धकेलिएको सशस्त्रकै उच्च अधिकारीहरु स्वीकार्छन् । हुन पनि राईको कार्यकालमा सिन्को भाँच्ने काम पनि भएन । उनी जसरी पनि आफ्नो कार्यकाल कटाउनेतर्फ लागे । जसको असर अहिले परिरहेको छ ।

पूर्व एआईजी तामाङ राईको कार्यकालबारे केही भन्न चाहँदैनन् । उनी यति मात्र भन्छन्, ‘म आफै त्यसबेला सशस्त्र प्रहरी बलको आईजीपी पछाडिको मान्छे भएको हुनाले यस विषयमा धेरै कुरा गर्न मिल्दैन । आन्तरिक कुरा के कस्ता भए भन्नेबारे मैले भन्नु भन्दा पनि बाहिरी जनता, सर्वसाधारण र राजनीतिज्ञले टिप्पणी गर्ने हो । अर्काे कुरा, मैले पूर्वआईजीपीको नाममा टिकाटिप्पणी गर्नु उचित पनि हुँदैन । तर के चाहिँ हो भने उहाँले अझै धेरै काम गर्न सक्नुहुन्थ्यो । अरु सबै समयले बताउने कुरा हो ।’

वर्तमान आईजीपी सिंहबहादुर श्रेष्ठबारे भने यनी भन्छन्, ‘सशस्त्र प्रहरीमात्र हैन अन्य कुनै पनि संगठनमा प्रमुख भएपश्चात एउटा व्यक्तिको आफ्नो इच्छालेमात्र सबै कुरा चल्ने र निर्भर हुने हुँदैन । उहाँमाथि पनि अरुको निर्देशन पनि लादिएका हुन्छन् । आफूले चाहेर पनि कतिपय काम गर्न सक्ने वातावरण हुँदैन । हालका आईजीपी श्रेष्ठले आफ्नो बलबुताले भ्याएसम्म राम्रै काम गर्नुभएको छ ।’

अहिले सशस्त्र प्रहरी बलमा ३० बर्से सेवा अवधि ठीक कि बेठीक भन्ने बहस सुरु भएको छ । यो विषयमा भने तामाङको भनाइ छ, ‘नेपाली सेनामा, निजामती सेवामा र एसियाको कुनै पनि देशमा यो प्रावधान छैन । यसबारे राज्यले पनि सोच्नुपर्छ । यसमा सरकार परिवर्तन अनुसार परिवर्तन भइरहन्छ । कसैले ३० वर्ष, कसैले ३२ वर्ष फेरि ३० वर्ष बनाउनु निकै हाँस्यास्पद छ । यसले राज्यलाई क्षति गर्छ ।’

(विस्तृत कुराकानी भिडियो अन्तर्वार्तामा)

Dr. Krishna Kumar Tamang

विशेष