अपराध सुरक्षा

उपचारको बहानामा यौन शोषण

उपचारको बहानामा यौन शोषण

काठमाडौं । केही महिनाअघि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोमा परिवारसहित आएकी एक अविवाहित युवतीको दुर्दान्त कथा सुनेर ब्युरोका अनुसन्धान अधिकारीहरू चकित परे । युवतीमाथि वर्षौंदेखि भएको बलात्कार, यौन दुव्र्यवहार र त्यसलाई ढाकछोप गर्न सामाजिक सञ्जाललाई हतियार बनाउने आरोपित कोही नभएर, आफूलाई अवतारी लामा बताउने एक व्यक्ति थिए । ती युवतीको कथा सुनेपछि अनुसन्धानमा जुटेको प्रहरीले स्वघोषित अवतारी लामा दाबी गर्ने व्यक्तिले धर्मको आवरणमा कैयन् युवतीमाथि यौन शोषण र हिंसा गरिरहेको निष्कर्ष निकाल्दै उनलाई पक्राउ गरेको छ ।

सिन्धुली कुशेश्वर दुम्जा स्थायी घर भई दक्षिणकाली नगरपालिका–१ चाल्नाखेलमा गुम्बा चलाएर बसेका गुरु रिम्पोछे छुल्ठिम दोर्जे यान्तान टुल्कु लामालाई ब्युरोले मंगलबार उनकै गुम्बा पेमा टासी छुल्ठिम घोम्बो कासुङबाट पक्राउ गरेको छ । प्रहरी पुग्दा लामा भिक्षुको पोसाकमा आफ्नो

पूजाकोठा छेवैको सोफामा बसेका थिए । प्रहरीका अनुसार २०६६ सालमा शरीर चिलाउने रोग सुरु भएपछि ती युवती परिवारकै सल्लाहमा लामाकहाँ उपचार गर्न भन्दै पुगेकी थिइन् । लामाले ती युवतीलाई दुई साता गुम्बामै आवासीय रूपमा बसेर उपचार गर्नुपर्ने सुझाएका थिए । त्यही सल्लाहका आधारमा गुम्बा बसेकी युवतीलाई लामाले निर्वस्त्र बनाउँथे र ‘उपचार’ गरेको दाबी गर्थे । यही उपचारका सिलसिलामा ती युवतीमाथि लामाले पटकपटक बलात्कार गरे ।

 घटना बाहिर जाने डरले लामाले युवतीलाई अनेक कथित धार्मिक मन्त्र सुनाउँदै तर्साएका थिए । युवतीलाई उनको नांगो तस्बिर फेसबुकमा हालेर यौन सम्बन्धी अरू तस्बिर पनि बाहिर ल्याइदिने भन्दै धम्क्याएका थिए । १२ रोपनीमा फैलिएको गुम्बामा मंगलबार लामालाई पक्राउ गर्न जाँदा सात महिला पनि गुम्बामा आवासीय रूपमा बसेका थिए । प्रहरीका अनुसार तीमध्ये केही वयस्क उमेरका अविवाहित महिला र केही अविवाहित युवती थिए । जसमध्ये धेरैजसो भने उपचारका लागि भन्दै गुम्बामा आवासीय रूपमा बसेका थिए । ६० उमेर कटेकी एक अविवाहित महिलाले भने पछिल्ला सात वर्षयता गुम्बामा लामाको सेवा गरेर बसिरहेको बताएकी थिइन् । अर्की एक महिला भने झन्डै १८ वर्षकी छोरीसहित गुम्बामा दुई वर्षदेखि बसिरहेकी थिइन् ।
प्रहरीका अनुसार अन्य महिलाले आफूमाथि यौन दुव्र्यवहार गरेको खुला रूपमा बताएका छैनन् । तर उपचारका नाममा लामाले धेरै महिलामाथि यौन शोषण गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । मंगलबार प्रहरी पुग्दा उनको गुम्बाको एउटा कोठामा

केही ‘वाइन’का बोतलहरू पनि भेटिएका थिए । लामाले ती वाइन भगवानलाई चढाउन ल्याएको बताए । उनको कोठामा झन्डै १५ वटा खाममा दर्शनार्थीहरूले भेटीस्वरूप चढाएको पैसा पनि भेटिएको थियो ।

आफूलाई दसाै‌ पुस्तासम्म एउटै कुलमा जन्मेको अवतारी लामा भएको बताउँदै उनले आफ्नो चित्त दुख्ने र भनेजस्तो काम नगरे युवतीहरूलाई अनिष्ट हुने भनेर धम्क्याउँथे । प्रहरीका अनुसार उपचारका निम्ति भन्दै आएका अधिकांश महिलालाई उनले एकान्त कोठामा लैजान्थे र निर्वस्त्र बनाएर उपचार गरेको बहाना गर्दै यौन सम्पर्क गर्थे । उपचार विधि अरूलाई बताएमा ठूलो क्षति हुने, रोग बल्झिने भन्दै उनले महिलाहरूलाई तर्साउँथे । लामाले यौन सम्बन्ध राखेका महिलालाई आफ्नो अनुमतिबिना विवाह गरेमा वा अरूसँग यौन सम्बन्ध राखेमा तिम्रो मृत्यु हुन्छ भनेर मानसिक त्रास देखाउँथे । कतिसम्म भने लामाले केही युवतीलाई आफूलाई पुनर्जन्मको पनि ज्ञान भएको बताउँदै तिमी मेरो पूर्वजन्मको श्रीमती हो भन्थे र करकापमा पारेर नाजायज सम्बन्ध गाँस्थे ।

ब्युरोका प्रमुख डीआईजी पुष्कर कार्कीका अनुसार लामाले धार्मिक अन्धविश्वासमा टेकेर महिलामाथि शोषणको शृंखला चलाएको देखिन्छ । दस वर्षदेखि गुम्बा चलाउँदै आएका लामा त्यसअघि पर्यटकको गाइडका रूपमा काम गर्थे । प्रहरीका अनुसार नियमित प्राप्त हुने भेटीबापतको मोटो रकमबाट उनले गुम्बा चलाइरहेका थिए । त्यसका अलावा उनको आर्थिक स्रोत के–के थियो भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । प्रहरीका अनुसार निजी चालक राखेर हाइलक्स गाडीमा हुइँकिने लामाले त्यति ठूलो गुम्बाको व्यवस्थापन कुन आर्थिक स्रोतबाट गरिरहेका थिए भनेर अनुसन्धान भइरहेको छ ।

ब्युरोले बुधबार नै लामालाई काठमाडौं जिल्ला अदालतमा पेस गरेर जबरजस्ती करणी र विद्युतीय कारोबार ऐनअन्तर्गत मुद्दामा पाँच दिनको म्याद थपेर अनुसन्धान अगाडि बढाएको छ । डीआईजी कार्कीका अनुसार धर्मको आवरणमा लामाले गरेका क्रियाकलापबारे मिहिन अध्ययन भइरहेको छ । अन्य पीडित पनि प्रहरीको सम्पर्कमा पुगेका छन् ।

 कान्तिपुर

विशेष