माथिल्लो तामाकोशीः ९१ प्रतिशत काम सकियो, उत्पादन सुरु हुन अझै एक वर्ष
काठमाडौं । स्वदेशी लगानीबाट निर्माण भइरहेको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको निर्माण कार्य करिब ९१ प्रतिशत सम्पन्न भएको छ । यद्यपि मसिनो र मिहिनेत लाग्ने, खालका काम जस्तै उपकरण जडान तथा मुख्य सुरुङ मार्गको फिनिसिङ, इलेक्ट्रोमेकानिल र हाइड्रोमेकानिकलका काम बाँकी भएकाले आयोजनाले व्यावसायिक उत्पादन दिन अझै एक वर्ष कुर्नुपर्ने भएको छ । आयोजनाबाट ४५६ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिने छ ।
आयोजनाका प्रमुख कार्यकारी अधिकृत विज्ञानप्रसाद श्रेष्ठका अनुसार विद्युत् आयोजनाका लागि निकै समय लाग्ने र गुणस्तरीयताका लागि काम अझै बाँकी रहेकाले संरचनागत अधिकांश काम सम्पन्न भइसकेको भए पनि आयोजनाबाट व्यावसायिक उत्पादन लिन सन् २०१८ को डिसेम्बर महिनासम्म कुर्नैपर्ने हुन्छ ।
पाँच वर्ष दस महिनामा सम्पन्न गर्ने लक्ष्यका साथ निर्माण सुरु गरिएको यो आयोजना गत दुई वर्षअघिको बिनाशकारी भूकम्प र भारतीय नाकाबन्दीले झण्डै अढाई वर्ष पछाडि धकेलिएको छ ।
प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले भने ‘खास मिहिनेत लाग्ने काम बाँकी छ । पावर हाउसका युनिटका इलेक्ट्रोमेकानिकल र हाइड्रोमेकानिकलको काम भइरहेको छ, टनेल बे्रक थ्रु भएपछि यसको फिनिसिङ गर्ने काममा पनि निकै समय लाग्छ । झट्ट हेर्दा आयोजनाका ठूलाठूला काम र संरचना निर्माण सम्पन्न भइसकेको देखिए पनि अन्य धेरै काम बाँकी छन । त्यसलाई पनि निर्धारित समयमै सम्पन्न गर्ने लक्ष्यका साथ द्रूत गतिमा काम भइरहेको छ ।