अर्थ

असिनाले पाँच करोडको अन्नबाली नोक्सान

असिनाले पाँच करोडको अन्नबाली नोक्सान

नुवाकोट । धान भित्र्याउने समयमा आएको असिनाबाट जिल्लामा करिब रु पाँच करोडको क्षति पुगेको छ । 

कात्तिक ११ गते शनिबार आएको वर्षा र हावाहुरी सहितको असिनाले धान, कोदोलगायत अन्नबाली तथा तरकारीमा रु चार करोड ९२ लाख चार हजारको क्षति पुगेको जिल्ला कृषि विकास कार्यालयका प्रमुख डा कमलराज गैरेले जानकारी दिए । 

जिल्लाको विदुर नगरपालिका, मेघाङ, तार्केश्वर, ककनी लगायतका गाउँपालिकाको एक हजार ८१७ घरपरिवारको ८१३ हेक्टरभन्दा बढी क्षेत्रफलमा लगाएको बालीमा क्षति पुगेको कृषि कार्यालयका प्राविधिकले संकलन गरी सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ । 

वर्षासहितको असिनाले मेघाङ गाउँपालिका–४, ५ र ६ मा पर्ने सामरी भञ्ज्याङ, कल्लाबारी, थुम्का र फलाँटे लगायतका बस्तीका एक हजार ५०० किसानको ६८५ हेक्टर क्षेत्रफलमा लगाएको धान ५० देखि ९० प्रतिशतसम्म क्षति भएको छ । 

यस्तै, तारकेश्वर गाउँपालिका–१ दाङ्सिङको ४५ घरपरिवारले दश रोपनी क्षेत्रफलमा लगाएको धान र व्यावसायिक लप्सी खेतीमा असिनाले क्षति पुर्याएको छ । विदुर नगरपालिका–७ तुप्चेको अक्करे, रातमाटे, महादेवखर्क, वडा नंं १३ को कल्याणपुरफाँट, हर्कपुर, हुलाकघरका दुई सय घरपरिवारको ११३ हेक्टरमा लगाएको धान, कोदो, आलु र तरकारी खेतीमा असिनाले रु ६८ लाख चार हजार बराबरको नोक्सान पुर्याएको छ । 

यस्तै, ककनी गाउँपालिकाको ओखरपौवा, चाउथे लगायतका बस्तीका ३५ घरधुरीले लगाएको धान, कोदो, तरकारी र आलुमा असिनाले क्षति पुर्याएको छ । भित्र्याउने समय भएको धान, कोदो, तरकारी र भर्खरै रोपेको आलु खेतीमा असिनापानी क्षति पुर्याएको छ । 

असिनाले मुख्य बाली धानमा बढी क्षति पुर्याएको छ । किसानलाई राहत तथा अनुदान उपलब्ध गराउन दैवी प्रकोप तथा राहत व्यवस्थापन महाशाखासँग समन्वयन गरेको डा गैरेले बताए । राहत उपलब्ध गराउन बजेट प्राप्त नभएकाले केन्द्रमा पहल गरी सहयोग उपलब्ध गराइने उनको भनाइ छ । यसअघि साउन–भदौमा जिल्लाको विभिन्न बस्तीका किसानले बाढी र पहिरोबाट करिब रु दश अर्बको नोक्सान बेहोरे पनि राहत पाउन सकेका छैनन् । 

nuwakot hailstone

विशेष