अपराध सुरक्षा

एक्स–रे गर्ने बहानामा किशोरीको संवेदनशील अंगमा हात छिराएपछि...

एक्स–रे गर्ने बहानामा किशोरीको संवेदनशील अंगमा हात छिराएपछि...

धरान । एक्स–रे गर्ने बहानामा १५ वर्षीया किशोरीको संवेदनशील अंगमा हात लगाएको आरोपमा प्रहरीले धरान १० पुतलीलाइनस्थित डा हरि शर्माको क्लिनिकमा कार्यरत शरणकुमार राईलाई नियन्त्रणमा लिएको छ ।

बन्द कोठमा नग्न बनाएर प्राविधिक राईले ढाडको समस्याको एक्स–रे गर्न केन्द्रित हुनुपर्नेमा संवेदनशील अंगमा पटकपटक हात लगाई यौन दुव्र्यवहार गरेको उजुरी परेपछि प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरीका नायब उपरीक्षक रामेश्वर पौडलेले उजुरीका आधारमा राईलाई पक्राउ गरी अनुसन्धानका लागि हिरासतमा लिएको बताए । राईलाई जबर्जस्ती करणीअन्तर्गत मुद्दा चलाउने तयारी भएको पौडेलले बताए ।

बन्द कोठामा नग्न पारेर यौन दुव्र्यवहार गरेको उजुरीमा उल्लेख छ । पीडित किशोरीका अनुसार एक्सरे कोठामा राईले आफ्नी आमालाई पस्न नदिएपछि उनलाई मात्र लिएर भित्रबाट ढोका बन्द गरेका थिए ।

उनले भनिन्, ‘एक्स–रे कक्षमा प्रवेश गरेपछि राईले सबै लुगा फुकाल्न भनेपछि ‘होला त नि’ भनेर लुगा फुकालेँ । तर राईले एक्सरे गर्नुको सट्टा छाती र यौनाङ्गमा हात लगे ।’ जबर्जस्ती जताततै औंला लगेपछि उनी चिच्याएकी थिइन् । उनकी आमाले एक्सरे कक्षमा छिरेकी छोरी आधा घण्टासम्म बाहिर ननिस्केपछि सोधीखोजी गरेकी थिइन् ।

पाँच मिनेटमा हुने एक्सरे आधा घण्टा लगाएपछि शंका लागेको आमाले बताइन् । उनले भनिन्, ‘आधा घण्टापछि राई बाहिर निस्क्यो । म छोरी भएतिर गएँ । भित्र छिर्दा छोरी लुगा लगाउँदै थिइन् । किन ढिला गरेको भन्दा छोरी रुँदै घटना सुनाउन थालिन् ।’

चार दिनदेखि ढाड दुखेपछि आमासँग उपचारका लागि क्लिनिकमा पुगेकी थिइन् । धरान–४ सुमनटार बस्ने ती किशोरीले इप्रकामा किटानी जाहेरी दिएकी थिइन् । एक्स–रे गर्नुपर्ने भएपछि प्राविधिक राईले किशोरीलाई मात्र भित्र अँध्यारो कोठामा नाङ्गै बनाएको र संवेदनशील अंगमा पटकपटक हातले छोएको किशोरीले बताइन् ।

महिला सञ्जाल धरान उपमहानगरको सहयोगमा किशोरीले उजुरी दिएकी हुन् । महिला सञ्जाल अध्यक्ष शीला वज्राचार्यले स्वास्थ्य क्षेत्रमा पनि महिला, बालबालिका, किशोरी असुरक्षित भएकाले यौनदुव्र्यवहार गर्नेमाथि कडा कारबाही गर्न माग गरेकी छन् ।

विशेष