अपराध सुरक्षा

यस्ता ठग, फेसबुकबाटै ठगे ५२ लाख

यस्ता ठग, फेसबुकबाटै ठगे ५२ लाख

काठमाडाैं  । सामाजिक सञ्जाल फेसबुकमार्फत बनेको सम्बन्ध प्रयोग गरी ठगी गर्ने एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक माङ्खा–७ का ३३ वर्षीय तुलबहादुर तामाङ रहेका छन् ।

प्रहरीका अनुसार उनले कसैलाई विवाह त कसैलाई साथी बनाई ठगी गर्ने गरेको खुलेको छ । यसक्रममा उनले विभिन्न व्यक्तिबाट ५२ लाख रुपैयाँ ठगेका छन् ।   महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाबाट खटिएको विशेष टोलीले उनलाई सिन्धुपाल्चोकको माङ्खाबाट पक्राउ गरेको हो । प्रहरीका अनुसार उनले फेसबुकको माध्यमबाट विवाह गरी बनेको सम्बन्धका आधारमा विभिन्न व्यक्तिलाई ठग्दै आएका थिए । यसक्रममा उनले राजेश गुरुङ र कैलास गुरुङबाट २१ लाख रुपैयाँ ठगेका छन् । राजेश र कैलास उनकी श्रीमती मनकला गुरुङका नातेदार हुन् । उनले मनकलासँग फेसबुकको माध्यमबाट चिनजान गरी विवाह गरेका थिए ।   

फेसबुकबाटै चिनजान गरेर विवाह   महाशाखाका डिएसपी प्रजित केसीका अनुसार तुलबहादुरले मनकलालाई प्रभावमा पार्न फेसबुकबाट रिक्वेस्ट पठाएका थिए । रिक्वेस्ट एसेप्टपछि दुईबीच सम्बन्ध झाँगिएको थियो । डिएसपी केसीले भने, ‘दुईबीच फेसबुकबाट चिनजान भयो, विवाह भयो, अनि उनले श्रीमतीकै नातेदारलाई ठग्न थाले।’   

प्रहरीका अनुसार तुलबहादुरले युएस आर्मीमा जागिर लगाइदिने प्रलोभनमा राजेश र कैलाससँग २१ लाख रुपैयाँ लिएका छन् । रकम लिएलगत्तै बेपत्ता भएपछि मात्रै उनीहरूले आफू ठगिएको पत्तो पाएका थिए । उनलाई प्रहरीले ठगी मुद्दामा थप अनुसन्धान गरिरहेको छ ।   तुलबहादुर यसअघि पनि सामाजिक सञ्जाल फेसबुकको प्रयोग गरी ठगी मुद्दामा सजाय भोगेका अभियुक्त हुन् । उनले सिन्धुपाल्चोककी सिर्जना दोङ र उनका आफन्तसँग २२ लाख रुपैयाँ ठगेका थिए । उनले सिर्जनासित डिपेन्डेन्ट भिसामा अमेरिका लैजाने प्रलोभनमा ९ लाख रुपैयाँ ठगेका थिए । उनका आफन्त सञ्जय दोङ र मिम लामासित क्यानाडा लैजाने भन्दै १३ लाख रुपैयाँ ठगेका थिए ।   रोजगारीका क्रममा लेबनान पुगेकी दोङसँग उनको भेट फेसबुकमार्फत भएको थियो । जेभी नामबाट खोलिएको फेसबुक अकाउन्टबाट उनले दोङसँग सम्बन्ध बढाएका थिए । उनले सोही सम्बन्ध प्रयोग गरी दोङका आफन्त सञ्जय र मिमसँग सम्बन्ध बढाएका थिए । सबैलाई नेपाल बोलाएर उनले रकम फुत्काएको प्रहरीले जनाएको छ ।   

अदालतबाट छुटेपछि फेरि ठगी   प्रहरीका अनुसार उनले यसअघि फेसबुक नै प्रयोग गरेर रोजगारीका क्रममा साइप्रस पुगेकी कुसुम लामासँग पनि नौ लाख रुपैयाँ ठगेका थिए । उनले कुसुमलाई पनि क्यानाडा लैजाने प्रलोभन देखाई ठगी गरेका थिए ।   उक्त मुद्दामा प्रहरीले तुलबहादुरलाई डेढ वर्षअघि नै फक्राउ गरेको थियो । धरौटी रकम तिरेर उनी त्यतिवेला अदालतबाट छुटेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । त्यसलगत्तै उनी फेरि ठगी धन्दामा सक्रिय रहेको प्रहरीको भनाइ छ ।   डिएसपी केसीले भने, ‘उनले कसैलाई अमेरिका त कसैलाई क्यानडा लाने प्रलोभनमा ठगी गरेको खुलेको छ ।

सबै ठगीमा उनले फेसबुकको प्रयोग गरेको पाइएको छ । यसअघि पनि यस्तै घटनामा तुलबहादुर पक्राउ परेका थिए, पछि धरौटीमा छुटे । त्यसलगत्तै उनी पुरानै धन्दामा लागे ।’ अाजकाे नयाँ पत्रिका दैनिकमा समाचार छ ।

विशेष