अर्थ

नेताको गलामा अढाइ करोडको माला

नेताको गलामा अढाइ करोडको माला


काठमाडौं । तिहार सकिएको दुई महिना बितिसकेको छ । तिहारमा बढी बिक्री हुने सयपत्री फूलको कारोबार भने तिहारको समयभन्दा झन्डै दोब्बरले बढेको छ । तिहारलगत्तैदेखि चुनावी कार्यक्रम सुरु भएकाले नेताहरूको स्वागतका लागि सहरदेखि गाउँसम्म गोदाबरी फूलको कारोबार बढेको छ ।

पुष्प कारोबार गर्नेका लागि चुनाव आम्दानीको बनेको छ । फ्लोरिकल्चर एसोसिएसन अफ नेपाल फ्यानकाअनुसार चुनावी कार्यक्रमको करिव एक महिनामा करिव २ करोड ५० लाख रकम बराबरको मालाको कारोबार भएको छ । “चुनावको प्रचारप्रसारमा हिँड्ने नेताहरूलाई स्वागत गर्नका लागि यसपटक सयपत्री फूलको बढी प्रयोग भएको देखिएको छ,”

फ्यानका अध्यक्ष कुमार कसजु भन्छन्, “सहरदेखि गाउँसम्म चुनावी अभियानमा जताततै फूलको प्रयोग भएको छ, यसले पुष्प बजार थप चलायमान भएको छ ।” तिहारको अवधिमा औषतमा दैनिक ५ हजारदेखि ७ हजार गोटा सयपत्री फूलको माला बिक्री हुने गरेकोमा चुनावी अभियानका क्रममा १० देखि १२ हजार गोटा पुगेको गरेको उनले बताए ।

नेता कार्यकर्ता सबैले चुनावी अभियानका क्रममा घरदैलो तथा आमसभा गर्दा पनि सयपत्री फूलको माला नै प्रयोग गर्ने गरेको फेसबुकका भित्ताहरूमा बर्गेल्ती पाइन्छन् । पछिल्ला वर्षमा अतिथि सत्कार वा सम्मानका लागि सिल्क कपडाबाट बनाइएका खादाहरूको प्रचलन बिस्तारै घट्दै गर्दा यस्ता कार्यक्रममा पुष्पको प्रयोग हुन थालेको हो । बागमती सरसफाई गर्दा अत्यधिक मात्रामा खादा भेटिएपछि तत्कालीन सरकारका मुख्यसचिव तथा वागमती सरसफाइ कार्यक्रमका अगुवा लिलामणि पौडेलले खादाले माटो प्रदूषित हुने भएकाले खादाको सट्टा मालाको प्रयोग गर्ने अभियान नै चलाएका थिए ।

हिमाल, पहाड, तराइ तिनै क्षेत्रमा सकेसम्म फूलको माला नै प्रयोग गर्ने गरेको पाइएको छ । “यसपटक तिहार छिट्टै परेकाले धेरैजसो भेगमा तिहार सकिएपछि मात्र सयपत्री फूलेका थिए, फूलेका सयपत्रीको बिक्री गर्न चुनाव सुनौलो अवसर बनेको पाइयो,” अध्यक्ष कसजु भन्छन्, “प्रत्यक्ष रूपमा किनबेचबाहेक गाउँगाउँमा किसानहरूले आफ्नो करेसाबारीमा रहेको फूल टिपेर उम्मेदवारहरूलाई माला उनेर लाइदिएको पनि पाइएको छ ।” तिहारलगत्तै सयपत्री फूलको माग घट्ने गरेकोमा चुनावकै कारण तिहारलगत्तै माग ह्वात्तै बढेको बताउने उनी दैनिक करिव ८ देखि ९ लाख रुपैयाँ बराबरको सयपत्री फूलको कारोबार हुने गरेको बताउँछन् ।

स्वदेशी मागले नधान्ने अवस्थामा कतिपयले भारतबाट आयात गरेर यो अवधिमा फूलको कारोबार गरेको छ । यद्यपि कहाँकहाँबाट कति पुष्प आयात भयो भन्ने यकिन तथ्यांक भने फ्यानले तयार पारिसकेको छैन । माग बढेपछि गत वर्षभन्दा गोदाबरी फूलको मालाको मूल्यसमेत बढेको पाइएको छ । गत वर्ष यही सिजनमा ४५ देखि ५० रुपैयाँ गोटासम्ममा पाइने फूलको मालाको मूल्य हाल ६० देखि ६५ गोटामा बिक्री हुने गरेको छ । तिहारमा एक्कासी बढ्ने सयपत्री फूल ठूलो मात्रामा आयात समेत हुने गरेको छ । सयपत्रीको कारोबारबाट किसानभन्दा पनि बढी फाइदा व्यापारीहरूले लिने गरेको पाइन्छ । कट्फ्लावरहरूमा भने किसानको आम्दानी उच्च भन्ने खबर अाजकाे काराेबार दैनिकमा छ । 

विवाह, ब्रतवन्ध, मृत्यु संस्कारलगायत दैनिक नित्य पूजामा पनि प्रयोग हुने भएकाले सयपत्री फूलको कारोबार वर्षभरी नै हुने गरेको छ । नेपालमा उत्पादन हुने सयपत्रीले ८ देखि १० महिनासम्म बजार धान्ने गरेको छ । बाँकी महिनाका लागि छिमेकी मुलुक भारतबाट सयपत्री आयात हुने गरेको छ । स्वदेशमै माग बढ्न थालेपछि पुष्प व्यवसायीहरू टनेलमा सयपत्री फूलको व्यवसायिक खेती गर्न थालेका छन् । सयपत्री फूलको उत्पादन प्रवद्र्धनका लागि कृषि विकास मन्त्रालयको सहयोगमा फ्यानले यो वर्ष १०५ रोपनी क्षेत्रफलमा पुष्प खेति बिस्तार गर्न १५ वटा नर्सरीलाई अनुदान उपलब्ध गराएको छ ।

विशेष