अपराध सुरक्षा

सस्तोको लोभमा यसरी ठगिए पोखरेली

सस्तोको लोभमा यसरी ठगिए पोखरेली

काठमाडौं । आधा सस्तो मूल्यमा सामान पाउने लोभमा पोखरेली ठगिएका छन् ।बजार मूल्यभन्दा झण्डै आधा सस्तोमा सामान उपलब्ध गराउने भन्दै करोडौं रुपैयाँ लिएर एक भारतीय नागरिक सम्पर्कबिहीन भएका छन् ।

सिर्जनाचोकमा डेढ महिनाअघि एक भारतीय नागरिकले अक्सिजन ट्रेडर्स नाम दिएर आधा सस्तोमा सामान बेच्न धन्दा सुरु गरे । अग्रिम पैसा बुझाएको हप्ता दिनमा आधा छुटमा सामान उपलब्ध गराउने व्यापारीको जालमा सजिलै पोखरेली परे । अक्सिजन ट्रेडर्सको नामबाट थेङवेले पोखरेलीको विश्वास जित्न इलेक्टिक, विभिन्न भाँडा बर्तन, फर्निचर लगायतका सामानहरु बजार मूल्यभन्दा झन्डै आधामै पनि उपलब्ध गराए ।

तर, शुक्रबार पछि व्यापारी फरार भएपछि पोखरेली एकाएक झस्के । अहिले सिर्जनाचोकमा रहेको अक्सिजन ट्रेडर्समा पोखरेलीको ठूलो भीड लागेको छ । सस्तो मूल्यमा भाँडा बर्तन पाउने लोभमा थुप्रै पोखरेलीले भारतीय नागरिक राजेन्द्र थेङवेललाई पैसा बुझाएका छन् ।

शनिबारदेखि बन्द पसल सोमबार पनि नखुल्दा ठगिएको महशुस गर्दै विहानैदेखि सर्वसाधारण पसल अगाडि ठूलो भीड लागेको छ । १ हजारदेखि ५ लाख रुपैयाँसम्म पोखरेलीलार्य उनलाई पैसा बुझाएका छन् । मालेपाटनका टेक विकले घरायसी सामानका लागि ५ हजार रुपैयाँ तिरेका छन् । राष्ट्रवैँकचोकका रिजन नेपालले ३२ ईन्चको एलजी टिभी खरिदको लागि २२ हजार अग्रिम बुझाए । यसरी अग्रिम बुझाउने सयौं पोखरेली छन् ।

‘पहिले सामान किनेकै हो । सस्तोमा पाइएपछि लोभ लागेर फेरि १ लाख रुपैयाँको सामान ल्याउन बुझाएकी हुँ । अहिले भाग्यो भनेपछि झस्किएँ,’ गृहिणी सगुन बरालले भनिन् । सस्तोमा सामान मिलाइदिने भन्दै ठगी धन्दा चलाएको भन्दै उजुरी परेपछि प्रहरीले केही हप्ताअघि पक्राउसमेत गरेको थियो । तर, आफूले नियमसंगत नै चलाएको र स्थानीयलेसमेत हामीलाई उसको विश्वास छ भनेपछि प्रहरीले छाडेको थियो । ईलेक्ट्रोनिक्स, फर्निचर र घरायसी सामानहरु एडभान्स पैसा लिदै आधा छुटमा दिएपछि सर्वसाधारण लोभिएका थिए ।

राजेन्द्र थेङवेललाई प्रहरीले खोजी गरिरहेको छ तर उनी सम्पर्कबाहिर छन् । सामान उवपलब्ध गराउन अग्रिम पैसा लिएको बिलमा सम्पर्क नम्बर छ तर फोन लाग्दैन । अधिकांश व्यक्तिले आज सामान आउने गरी पैसा बुझाएका थिए । अग्रिम रकम बुझाउनेलाई प्यान नम्बरसहित र मोबाइल नम्बरसहित बिल दिए पनि उक्त प्यान विलमा भने अर्कोको नाम देखिन्छ । उक्त ट्रेडर्सका सम्बन्धित व्यक्तिको मोबाइल स्विच अफ गरिएको छ ।

विशेष