अर्थ

एडिबीको २ करोड ७२ लाख सहयोगमा निर्मित विद्यालय भवन हस्तान्तरण

एडिबीको २ करोड ७२ लाख सहयोगमा निर्मित विद्यालय भवन हस्तान्तरण

धुलिखेल । काभ्रेपलाञ्चोकको मण्डन देउपुर नगरपालिका–७ नौविसे महादेवस्थानस्थित कालिदेवी आधारभूत विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको छ।

एसियाली विकास बैंक (एडिबी) को आर्थिक सहयोग, जिल्ला आयोजना कार्यान्वयन इकाइ र जिल्ला शिक्षा कार्यालय, काभ्रेपलाञ्चोकको समन्वयमा निर्माण कार्य सम्पन्न भएका विद्यालयका चार वटा भवन सोमबार हस्तान्तरण गरिएको हो। २०७२ बैसाख १२ गतेको भूकम्पले उक्त विद्यालयको भवन क्षति भएपछि बालबालिकालाई अध्ययन गर्न समस्या हुँदै आएको थियो।

एडिबीको आर्थिक सहयोगमा शिक्षा मन्त्रालय, जिल्ला आयोजना कार्यान्वयन इकाइ र जिल्ला शिक्षा कार्यालयको समन्वयमा ‘भूकम्प आपत्कालीन सहायता आयोजना’ परियोजनाअन्तर्गत २०७३ साल साउन ३१ गते कार्यक्रम सम्झौता गरी निर्माण गरिएको हो।

हस्तान्तरण कार्यक्रममा शिक्षा मन्त्रालयका सचिव मधुप्रसाद रेग्मीले २०७२ को महाभूकम्पले सबैभन्दा बढी विद्यालय भवन क्षति पुर्याएको भन्दै त्यसको पुनःनिर्माण गर्न दाताहरुले धेरै सहयोग गरेको बताए।

एडिबीका देशीय निर्देशक मक्थोर खामुदखानोभले भूकम्पबाट क्षति पुगेका नेपालका विभिन्न जिल्लाका विद्यालय भवन पुनःनिर्माणका लागि काम भइरहेको बताए। त्यसमध्येमा काभ्रेको मण्डन देउपुरस्थित नौविसेमा निर्माण गरेको विद्यालय भवन तोकिएको समयमा नै निर्माण कार्य सम्पन्न गरी सम्बन्धित निकायलाई हस्तान्तरण गर्न पाएकोमा खुसी व्यक्त गरे।

मण्डन देउपुर नगरपालिकाका प्रमुख टोकबहादुर वाइबाले जिल्लामा भएका ग्रामीण भेगका धेरैजसो विद्यालय शिक्षक दरबन्दी कम र विद्यार्थी सङ्ख्या बढी रहेको अवस्थामा रहेको बताए। शिक्षक सङ्ख्या नै अपुग भएको अवस्थामा समयानुकूल गुणस्तरीय शिक्षाको कुरा गर्नु अस्वाभाविक भएको उल्लेख गर्दै उनले शिक्षक सङ्ख्या व्यवस्थापनका लागि शिक्षा मन्त्रालयको ध्यान जान आवश्यक रहेकोमा जोड दिए।

एडिबीको सहयोगमा निर्माण भएको सो विद्यालयका कक्षाकोठा आधुनिक सुविधा सम्पन्न रहेको जिल्ला आयोजना कार्यान्वयन इकाईका इन्जिनियर सोभित श्रेष्ठले बताए। एडिबीको रु २ करोड ७२ लाख ७५ हजार १६२ लागत सहयोगमा निर्माण कार्य सम्पन्न भएको हो।

विशेष