अपराध सुरक्षा

वैदेशिक रोजगारीबाट फर्किएका सिग्दार विमानस्थलबाटै लुटिए

वैदेशिक रोजगारीबाट फर्किएका सिग्दार विमानस्थलबाटै लुटिए

काठमाडौं । वैदेशिक रोजगारबाट फर्किएका एक नेपालीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै लुट्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । कतारको दोहाबाट काठमाडौं आएका मोरङको गोलाप्रासीका प्रदीप सिग्दारलाई ट्याक्सी ड्राइभर र होटेल साहुले होटेलमा लैजाने भन्दै लुटेका थिए ।

पक्राउ पर्नेमा बा २ ज ४२१४ नम्बरका ट्याक्सी चालक कृष्णबहादुर पहरी र काठमाडौं तिलगंगास्थित सिताराम गेष्टहाउसका सञ्चालक अरुण मण्डल रहेका छन् । विदेशबाट ल्याएको ५० ग्राम सुनको बाला, २ थान घडिसहितको बिभिन्न लत्ताकपडा भएको ब्याग लिई दुबै जना फरार भएको भन्ने पीडित सिग्दारको उजुरीका आधारमा उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

उनीहरुले बिहीबार सिग्दारलाई एयरपोर्टबाट गेष्ट हाउस लैजाने भन्दै गेष्ट हाउस नलगी बाटोमा छोडेर उक्त सामान भएका व्याग लिएर फरार भएको पीडित सिग्दारको भनाइ छ । पीडितले एयरपोर्ट प्रहरीमा घटनाको निबेदन दिए पश्चात सिसीटिभी फुटेजको मद्दतबाट ट्याक्सी चालक र गेष्टहाउस संचालकलाई पहिचाहन गरी पक्राउ गरिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

विशेष