अपराध सुरक्षा

फेसबुकबाट प्रेमको पासो थापेर लाखौंको ठगी गर्ने तुलबहादुरको यस्तो छ कथा

फेसबुकबाट प्रेमको पासो थापेर लाखौंको ठगी गर्ने तुलबहादुरको यस्तो छ कथा

काठमाडौँ । तुल बहादुर तामाङ आफुलाई अमेरिकन आर्मी भएको बताउँथे । भुकम्पमा परेर आमाको मृत्यु भएको र प्रहरी अधिकृत रहेको बाबु सहित परिवारका सबै सदस्य अमेरिकामा भएको फुई लगाउँथे । उनको जीवनशैली र हाउभाउ भने कुनै धनी परिवारको सदस्यको झैं लाग्थ्यो । जसलाई जे बताएपनि सिन्धुपाल्चोकको माङखा घर भएका तुल बहादुर काठमाडौंमा भाडाको ट्याक्सी चलाउँथे । बचेको समय भने फेसबुक चलाउँथे ।

फेसबुकबाटै उनी अनेकन केटीको सम्र्पकमा पुग्थे र अनेकन आश्वासन दिन्थे । यही क्रममा उनले संखुवासभाको नुममा घर भएकी करिव २१ वर्षकी एक युवतीसँग सम्र्पक बढाए । त्यसपछि सुरु भएको उनको प्रेम कथा जसरी अगाडि बढ्यो त्यसरी नै कथामा कैयन घुम्तीहरु देखा परे । महिनौ लामो प्रेम पछि उनले तिनै युवतीलाई बिहे गरे, तर बिहे पछि सुरु भएको कथाको अर्को पाटोले तुल बहादुरलाई प्रहरीको खोरमा पुर्‍याइदियो ।

फेसबुकबाट सम्र्पक स्थापित गरेकी केटीलाई उनले प्रेमको प्रस्ताव गरे । उनीहरुबीचको माया पिरतीको यति गहिरियो कि, फेसबुकबाट जोडिएको केही महिनामै तुलबहादुर संखुवासभा केटीको घर पुगे । सामान्य आर्थिक परिवारको युवतीको अभिभावकहरु केटाको उच्च धनाढ्य जीवनशैलीको कथा सुनेर छक्कै परे । पहिलो भेट पछि नै तुलबहादुरलाई युवतीको घर आउँजाउमा कुनै रोकतोक भएन ।

केही पटकको आउजाउ पछि तुलले युवतीलाई परिवारकै सहमतीमा बिहे गरे । त्यसपछि श्रीमती लिएर काठमाडौं आए । तर आफ्नो घर भने लगेनन् । बरु उनलाई केही दिन काठमाडौं घुमाएर माईत नै फर्काइदिए । बिहे पछिका केही महिनासम्म तुलले युवतीलाई केही दिनका लागि काठमाडौं बोलाउँथे र फेरी माईतै फर्काइदिन्थे ।

आफ्नो घर पनि नलैजाने, परिवारका सदस्य पनि नभेटाउने गरेपछि युवतीलाई केही शंका हुन थालीसकेको थियो । सोही बीचमा तुलले अर्को पासो थापे । उनले ससुरा र पत्नीसंग भने, ‘सालो बेकामे भइरहेको छ । त्यसलाई अमेरिकन आर्मीमा भर्ती गराईदिन्छु ।’ ज्वाईको आर्कषक प्रस्ताव सुनेर ससुराली पक्षले नाईनास्ती गर्ने अवस्थै रहेन । जेनतेन खोजखन्तर गरेर ससुराले तुललाई २१ लाख रुपैयाँ दिए ।

मंसिर १४ गते अमेरिका उडनुपर्ने भन्दै तुलले सालोलाई काठमाडौं बोलाए । जब सालो काठमाडौं आएर भिनाजु खोजे, त्यसपछि तुल सम्र्पकमै आएनन् । त्यसपछि बल्ल उनीहरुले आफू नराम्रोसँग ठगिएको चाल पाए र गुहार माग्दै प्रहरी परिसर काठमाडौं पुगे ।

प्रहरी अनुसन्धान पछि पोल खुल्यो, २१ लाख रुपैयाँ हात पारेपछि तुल आफ्नो गाउँ माङखा पुगेर लुकेका थिए । प्रहरीले घटनाको थप अनुसन्धान गर्न सिन्धुपाल्चोकको बाह्रबिसे इलाका प्रहरी कार्यालयसँग सहयोग लियो । बाह्रबिसे ईलाका प्रहरी कार्यालयले तुललाई मंसिर २२ गते उनकै खाडीचौर बजारबाट पक्राउ गरेर काठमाडौं पठाइदियो ।

तुल पक्राउ परे पछि पनि उनको कथा भने सकिएन ।

प्रहरीले तुलको अनौठो ठगीको पर्दा त च्यात्यो नै उनले विगतमा गरेको यस्तै प्रकृतीका ठगीका अन्य घटनाको लहरो पनि भेटायो । प्रहरीका अनुसार तुलले दुई वर्ष अघि पनि आफू क्यानडा बस्ने र उतैको पिआर होल्डर भएको बताउँदै फेसबुकमार्फत एउटी युवतीलाई जालोमा पारेका रहेछन् । क्यानडा लैजाने भन्दै १८ लाख रुपैयाँ लिएर फरार भएपछि तुलमान विरुद्ध वैदेशिक रोजगार विभागमा मुद्दा परेको रहेछ । विभागको अनुसन्धान पछि १८ लाख धरौटी बुझाएर तुलमान मुक्त भएका रहेछन् । –कान्तिपुर दैनिकबाट

विशेष