अर्थ

एक सातामा १ हजार सस्तो भयो सुन, यस्तो छ कारण

एक सातामा १ हजार सस्तो भयो सुन, यस्तो छ कारण

काठमाडौं । शुक्रवार सुन चार महिनायताकै सस्तिएको छ । गत शनिबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रस्ताव गरेको कर कटौती सम्बन्धी विधेयकलाई सिनेटरहरुले अनुमोदन गरेपछि सुनको भाउ ओरालो लाग्ने क्रम रोकिएको छैन । विधेयक पासभएपछि लगानीकर्ताहरुमा व्यवासायको क्षेत्रमा उत्साह बढेकाले सुन ओरालो लागेको विश्लेषण गरिएको छ ।

रोयटर्सका अनुसार शुक्रवार सुनको मूल्य गत जुलाई २६यताकै सस्तिएर १२ सय ४८ अमेरिकी डलर पुगेको हो । गत जुलाई २६मा न्युनतम मूल्य प्रति औंस १२ सय ४३ अमेरिकी डलरसम्म पुगेको थियो ।

यसअघि सुनको न्युनतम मूल्य प्रति औंस १२ सय ५० डलरसम्म पुग्ने भविष्यवाणी गरिएको थियो । तर, शुक्रबारनै सुनको मूल्य १२ सय ४८ पुगेपछि अन्तराष्ट्रिय सञ्चारमाध्यमले नयाँ प्रक्षेपण गरेको छ । रोयटर्सको प्राविधिक विश्लेषक वाङ टाओका अनुसार डिसेम्बर भित्र सुनको मूल्य १२ सय ३९ डलरसम्म पूग्ने सम्भावना रहेको छ ।

सातामा सुन १ हजार रुपैयाँले सस्तियो

साताको सुरुवातदेखि सुनको भाउ ओरालो लागिरहेको छ । ट्रम्पको कर कटौती विधेयक पास भएपछि नेपाली बजारमा एक सातामा सुन १ हजार रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रति तोला ५५ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको सुनको भाउ शुक्रबार ५४ हजार ५ सय रुपैयाँ पुगेको छ । नेपाली बजारमा शुक्रबार सुनको तोलामा भाउ पाँच सय रुपैयाँले घटेको छ । विहीबारसम्म स्थिर रहेको सुनको भाउ घटेर शुक्रवार प्रति तोला ५४ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

सुनको भाउसँगै एकसातामा चाँदीपनि प्रति तोला ३० रुपैयाँले सस्तिएको छ । महासंघका अनुसार गत आइतबार प्रति तोला सात सय ४० रुपैयाँमा कारोबार भइरहेको चाँदीको भाउ शुक्रबार घटेर प्रति तोला सात सय १० रुपैयाँ कायम भएको छ ।

विशेष