पन्ध्र हजार स्याउका बिरुवा वितरण
माघ–१९ । जिल्ला कृषि विकास कार्यालयले किसानलाई ९८ प्रतिशत अनुदानमा १५ हजार स्याउका बिरुवा वितरण गरेको छ ।
कृषिप्रसार कार्यक्रमअन्तर्गत जिल्ला कार्यालय र त्यस अन्तर्गतका सेवा केन्द्रबाट स्याउका बिरुवा वितरण गरिएको हो। स्याउ नर्सरीबाट ४० रुपैंयाँमा बिरुवा खरिद गरी किसानलाई दुई रुपैयाँमा बिरुवा उपलब्ध गराएको कार्यालयका प्राविधिक सहायक खेमराज शाहीले जानकारी दिए ।
व्यक्तिलाई १० वटा तथा समूहमा आउनेलाई ३० वटा बिरुवा उपलब्ध गराइएको छ । किसानको सहजता र स्याउ बगैँचा स्थापनामा सघाउ पुगोस् भनेर बिरुवा वितरण गरिएको शाहीले बताए । स्याउ आत्मनिर्भर कार्यक्रमअन्तर्गत कार्यालयलाई प्राप्त भएका ३ सय ३० निवदेनमध्ये प्रतिव्यक्ति १ सय ५० बिरुवा दिनेगरी सय जनालाई छनोट गरिएको छ ।
“छनोट भएका कृषकलाई खरिद मूल्यको ५० प्रतिशत कम मूल्यमा प्रति बिरुवा २० रुपैंयाका दरले १५ हजार बिरुवा वितरण गरेका छौँ,” उनले भने । यस वर्ष ३० हजार बिरुवा वितरण गरिएको छ । यस वर्ष जिल्लामा एक लाख ४५ हजार स्याउका बिरुवा उत्पादन भएको थियो । दर्ता भएका २८ स्याउ नर्सरीबाट एक लाख १० हजार तथा दर्ता नभएका नर्सरीबाट ३५ हजार स्याउका बिरुवा उत्पादन भएको कार्यालयले जनाएको छ । जिल्ला कार्यालयसँगै हाडसिङ्जा, नराकोट, तातोपानी र डिल्लीचौर सेवा केन्द्रबाट बिरुवा वितरण गरिएको थियो । रासस
जिल्ला कृषि विकास कार्यालय
बिरुवा
स्याउ