अर्थ

कुखुराजन्य पदार्थमा वैदेशिक लगानी नभित्र्याउन व्यवसायीको माग

कुखुराजन्य पदार्थमा वैदेशिक लगानी नभित्र्याउन व्यवसायीको माग
माघ–१९ । व्यवसायीले आत्मनिर्भर भएको दाबी गरिरहेको कुखुराजन्य पदार्थमा वैदेशिक लगानी भित्रन दिन नहुने माग गरेका छन् । तर जिल्लाका ठूला व्यवसायीको सहकार्यमा वैदेशिक लगानीमा दाना उद्योग यहाँ सञ्चालन भइरहेका छन् । मुख्यरुपमा भारतीय र चिनियाँ व्यापारी नेपालमा कुखुराजन्य पदार्थमा लगानी गर्न इच्छुक देखिएका छन् । पोल्ट्री व्यवसायी मञ्चका अध्यक्ष शङ्करप्रसाद कँडेलका अनुसार चितवनमा मात्र चिनियाँ लगानीमा बेलहोप र भारतीय लगानीमा स्काइ लार्क दाना उद्योग सञ्चालनमा छन। यस्तै चिनियाँ लगानीमा ‘न्यू होप’ निर्माणकै क्रममा छ। भारतीय लगानीमा हेटौँडामा ‘स्नेहा’ उद्योग निर्माणको क्रममा रहेको कँडेलले बताए । स्वदेशी लगानीकर्ताको मेहनतकै प्रतिफलको रुपमा आत्मनिर्भर बन्न पुगेको कुखुराजन्य व्यवसायमा विदेशी लगानी भित्र्याउन नहुने कँडेल बताउँछन। “थप दाना उद्योग आउन दिन हुँदैन,” उनले भने । कँडेलले विदेशीलाई दिने सुविधा नेपालीलाई दिनसके अरु थप उत्पादन बढाउन र सस्तोमा दाना बिक्री गर्न सकिने बताए । वैदेशिक लगानीमा खुलेका दाना उद्योग उच्च प्रविधियुक्त भएका कारण नेपाली दाना उद्योगले प्रतिस्पर्धा गर्न नसक्ने अवस्था छ । नेपालमा सर्वप्रथम भारतीयको साझेदारीमा ‘निम्बस’ दाना उद्योग स्थापना भएको थियो । लगत्तै नेपाली व्यावसायिक घराना वैद्य अर्गनाइजेसनले चिनियाँको साझेदारीमा ‘बेलहोप’ दाना उद्योग जिल्लामा स्थापना गरेको थियो । निम्बसबाट भारतीय साझेदार बाहिरिएको छ । तर अन्यमा भारतीय र चिनियाँ लगानीकर्ता आउने क्रम रोकिएको छैन । पोल्ट्री महासङ्घका उपाध्यक्ष अर्जुन अर्याल घरेलु उद्योगको रुपमा विकास भएर आत्मनिर्भर बन्न सकेको कुखुराजन्य क्षेत्रमा विदेशी लगानी भित्रिएमा यहाँको व्यवसाय सखाप हुने बताउँछन् । “विदेशी पुँजी भित्रन हुन्न भन्ने होइन तर कुखुराजन्य क्षेत्रमा भित्रन हुँदैन,” उनले थपे– “सरकारले कुखुरापालन क्षेत्रमा वैदेशिक लगानीलाई छुट दिँदा नेपाली व्यवसाय विस्थापित हुने खतरा बढिरहेको छ ।” नेपालमा व्यावसायिक पोल्ट्री फष्टाउनुमा देशकै व्यवसायीको महत्वपूर्ण योगदान रहेको नेपाल अन्डा उत्पादक सङ्घका महासचिव त्रिलोचन कँडेलको भनाइ छ । “घरघरमा थोरै कुखुरा पालेर जीविकोपार्जन गर्नेको रोजीरोटी विदेशी लगानी भित्रिएमा बन्द हुन्छ,” उनले भने। सानो व्यवसायलाई वैदेशिक लगानीको आवश्यकता नपर्ने कँडेलको भनाइ छ । नेपाल अन्डा उत्पादक सङ्घका केन्द्रीय अध्यक्ष शिवराम केसी मासु, चल्ला, अन्डाजस्ता उत्पादन क्षेत्रमा वैदेशिक लगानी ल्याउन नहुने बताउँछन् । स्वदेशी लगानीलाई सुरक्षित गर्नेतर्फ सरकार लाग्नुपर्नेमा उनले जोड दिए । केसीले विसं २०६९ देखि नै विदेशी लगानी पोल्ट्रीमा ल्याउन नहुने अभियान चलाउँदै आएका छन् । नेपालमा हाल दाना उद्योग १ सय २५ वटा रहेका छन। ती उद्योगबाट दैनिक तीन हजार टन दाना उत्पादन हुन्छ । पशुसेवा कार्यालयका प्रमुख डा डिल्लीराम सेढाईं सरकारले नेपाली व्यवसायीको हित खोजेको बताउँछन् । “पोल्ट्रीमा उत्पादन लागत घटाएर देशको माग पूरा गरी विदेश पठाउनेसम्मको योजना बनाउनुपर्छ,” उनले भने । नेपाली व्यवसायीले एउटै कुखुरा फार्ममा दुई अर्बसम्म लगानी गरेका पोल्ट्री महासङ्घका उपाध्यक्ष टीकाराम पोखरेलले बताए। अभिनास ग्रुपले सञ्चालन गरेको ‘प्यारेन्ट फार्म’मा दुई अर्बभन्दा बढीको लगानी छ। नेपालमा हाल कुखुरापालन व्यवसायमा करिब ८० अर्ब लगानी भएको व्यवसायी बताउँछन् । पोल्ट्री व्यवसायी मञ्चका कार्यकारी अधिकृत शिवप्रसाद बरालका अनुसार देशभर २२ हजार लेयर्स र ब्रोइलर फार्म सञ्चालनमा छन् । ब्रोइलर मासु र लेयर्स अन्डाका लागि पालिन्छ । देशभर १ सय ७८ ह्याचरी उद्योग रहेका छन भने पोल्ट्री क्षेत्रबाट एक लाख २० हजार घरपरिवारले प्रत्यक्ष रुपमा रोजगारी पाएका छन् । रासस

कुखुराजन्य पदार्थ वैदेशिक लगानी व्यवसायी

विशेष