अर्थ

बाह्र करोडको सुन्तला बिक्री

बाह्र करोडको सुन्तला बिक्री
माघ–२० । किसानले यस वर्ष एक हजार ९ सय ९५ मेट्रिक टन सुन्तला उत्पादन गरी ११ करोड ९७ लाखको सुन्तला बिक्री गरेका छन् । उत्पादन भएको सुन्तला झापा, मोरङ तथा भारतको दार्जिलिङ, सिलिगुढीलगायतका बजारमा बिक्री भएको हो । सुन्तला सरदर प्रतिकिलो ६० रुपैंयाँका दरले बिक्री भएको किसानले बताएका छन् । तराईका व्यापारी कृषकको बगानसम्म सुन्तला खरिद गर्न आएका कारण बजारको खासै समस्या नभएको जिर्मलेका यामप्रसाद अधिकारीले बताए । सुन्तला बिक्रीबाट जिल्लामा बर्सेनि करोडौँ रूपैयाँ भित्रिने गरेको छ । “नामसालिङ गाविसबाट मात्र यस वर्ष तीन करोडको सुन्तला बिक्री भएको छ,” अधिकारीले भने । गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादनमा तीन प्रतिशतले वृद्धि भएको जिल्ला कृषि विकास कार्यालयका सूचना अधिकारी प्रकाशमणि काफ्ले बताए । जिल्लामा यस वर्ष ३ सय ५० हेक्टरमा गरिएको खेतीबाट तीन हजार ६ सय २९ मेट्रिक टन सुन्तला उत्पादन भएको थियो। गत आवमा ३४० हेक्टरमा तीन हजार ५ सय २३ मेट्रिक टन सुन्तला उत्पादन भएको कार्यालयले जनाएको छ । सुम्बेक, नामसालिङ, जिर्मले, बरबोटे, सोयाक, गोदक, सोयाङ, पशुपतिनगर, कन्याम, लक्ष्मीपुर गाविस तथा इलाम नगरपालिका सुन्तला उत्पादन अत्यधिक मात्रामा हुने गरेको बताइएको छ । रासस

किसान सुन्तला

विशेष