पर्यटन

वसन्तपुर हुँदै कञ्चनजङ्घा हिमालसम्म पुग्ने पदमार्ग ठप्प

वसन्तपुर हुँदै कञ्चनजङ्घा हिमालसम्म पुग्ने पदमार्ग ठप्प
माघ–२० । एकै स्थानमा धेरै प्रजातिका गुराँस फुल्ने भएकै कारण पूर्वको पर्यटनमा ख्याति कमाएको तीनजुरे मिल्के जलजले टिएमजे क्षेत्रमा जथाभावी सडक निर्माण भएपछि यहाँको आकर्षण घटेको छ । तेह्रथुमको वसन्तपुरदेखि सङ्खुवासभाको गुफा बजार हुँदै ताप्लेजुङको दोभानसम्म पदमार्ग मासेर सडक निर्माण गरिएपछि पदमार्ग भएर आउने पर्यटकको रोजाइमा यो क्षेत्र पर्न छाडेको व्यवसायीको भनाइ छ । सुविधा भए पनि बढी जोखिम मोल्नुपर्ने भएपछि आएका पर्यटक पनि वसन्तपुरबाटै फर्कने गरेका छन् । “सबै कुरा भौतिक विकास मात्र होइन रहेछ,” बसन्तपुरका मिलन थापाले भने, “सडकको विस्तारसँगै पर्यटकीय यो थलो ओझेलमा पर्यो ।” नेपाल पर्यटन बोर्डले गरेको नेपालका पाँच उत्कृष्ट पर्यटकीय गन्तव्य स्थलमा सूचीकृत यो क्षेत्र यतिबेला सडक विस्तारका कारण क्षतविक्षत् भएको उनले बताए । गुराँस संरक्षण क्षेत्रका रूपमा विकास गर्न सरकारले लामो समयदेखि अध्ययन गरिरहेको टिएमजे क्षेत्रको महत्वपूर्ण पदमार्ग सडक मार्गका कारण मासिँदै गएको छ । वर्षको छ महिना कुमारी रहने टिएमजे क्षेत्रको पदमार्ग निर्माणाधीन वसन्तपुर गुफा हुँदै ताप्लेजुङको दोभान जोड्ने सडकका कारण कुरूप बनेको पर्यटन विकास तथा प्रवद्र्धन समितिले जनाएको छ । यो क्षेत्रमा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकले निर्माणाधीन सडकका कारण अन्यत्रैबाट ओहोरदोहोर गर्न थालेका छन् । एउटै उचाइको रमणीय यो पदमार्ग पछिल्लो समय सडक मार्गका कारण सङ्कटमा परेको पदमार्गमा रहेको चौकी बजारका सुरेशकुमार पाठकले बताए । “पदमार्ग भएर आउने पर्यटकले प्राकृतिक विविधतालाई नजिकबाट हेर्न रुचाउँछन्” – काठमाडौँको धापासीमा रहेको एडभेन्जर गो ट्रेक टाभल्स एन्ड टुर्सका पर्यटन व्यवसायी तथा पथप्रदर्शक लाक्पा शेर्पाले भने। उनी विदेशी पर्यटकलाई घुमाउन यस क्षेत्रमा समय समयमा आइरहन्छन् । यो पदमार्गको वसन्तपुरदेखि गुफा हुँदै साँघुसम्म साना सवारीका साधन सञ्चालन हुन थालेका छन् । पदमार्ग भएर हिँड्दा पाइने प्राकृतिक आनन्द मोटर बाटोमा नपाइने जर्मनीको एक कारागारमा प्रहरी अफिसरका रूपमा काम गर्ने स्टेफिन सेलीले बताए । “पदमार्ग मासिएपछि यहाँको पर्यटन व्यवसायमा पनि असर पर्न सक्छ” – उनले भने । मोटरबाटो निर्माणका कारण यहाँसम्म आइपुगेका पर्यटक आफ्नो बसाइ अवधिसमेत घटाउन थालेका छन् जसले गर्दा स्थानीय स्तरमा यसअघि हुने आर्थिक कारोबारमा समेत कमी आएको चौकी बजारका होटेल व्यवसायी उदयकुमार लोले बताए । उनका अनुसार पर्यटकको बसाइ अवधि छोटिएकाले पहिलेको तुलनामा व्यापारिक कारोबारमा समेत ह्रास आएको छ । यस क्षेत्रमा आउने पर्यटकको तथ्याङ्क राख्ने आधिकारिक निकाय नभए पनि गत वर्षको तुलनामा यो वर्ष पर्यटकको सङ्ख्यामा कमी आएको स्थानीय बासिन्दाको अनुभव छ । पर्यटकको आकर्षण देखेर यो पदमार्गको दर्जनौँ स्थानमा खुलेका बजारमा समेत अहिले कारोबार न्यून छ । वर्षको तीन महिनासम्म फुलिरहने २८ भन्दा बढी प्रजातिका गुराँस, विविध प्रजातिको कुहिरे वन, लोपोन्मुख जडीबुटी र वन्यजन्तु, सिमसार, पोखरी तथा चराचुरुङ्गी र मनोरम प्राकृतिक दृश्य यस क्षेत्रका पर्यटकीय आकर्षण हुन। यो क्षेत्र कुम्भकर्ण, मकालु र कञ्चनजङ्घा हिमाल आरोहण गर्न जानेहरुको पदमार्गसमेत हो । रासस

कञ्चनजङ्घा पदमार्ग वसन्तपुर

विशेष