पर्यटन

पर्यटन प्रवद्र्धन गर्न आलितालमा मन्दिर निर्माण

पर्यटन प्रवद्र्धन गर्न आलितालमा मन्दिर निर्माण
माघ २० । धार्मिक, ऐतिहासिक र पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण मानिने डडेल्धुरा अलिताल गाविसमा रहेको ताललाई पर्यटन प्रवद्र्धन गर्न तालनजिक स्थानीयवासीले मन्दिर निर्माण गरेका छन् । आलिताल क्षेत्रमा आन्तरिक र बाह्य पर्यटकको आगमन बढाउनका लागि स्थानीयवासीले आलितालको प्रवेशद्वारमा भगवती माताको मन्दिर निर्माण गरेको स्थानीयवासी रघुवीर धामीले जानकारी गराए । धार्मिक आस्थाले पनि महत्व राखेको आलितालमा सोही गाविस–४ चनला, पड्याम, आमसैनका बासिन्दाले जनश्रमदान गरी पर्यटकीय आलितालमा माता भगवतीको मन्दिर निर्माण गरेको आलिताल गाविसका सचिव जयसिंह साहुले बताए । बुधबार वसन्त पञ्चमीको अवसर पारेर परशुराम नगरपालिकामा रहेको इलाका प्रशासन कार्यालय जोगबुढाका प्रमुख दत्तुराम पाण्डेयको प्रमुख आथित्यमा मन्दिरको उद्घाटन गरिएको मन्दिर निर्माण समितिका अध्यक्ष गगनबहादुर बोहराले जानकारी गराए । डडेल्धुरा आलिताल गाविसको गोदामबाट तीन किलोमिटर टाढा समुद्री सतहबाट आठसय मिटर उचाइमा महाभारतको काखमा लम्बाइ एकहजार एकसय ७५ मिटर र चौडाइ करिब चारसय मिटर रहेको ताललाई व्यवस्थित गरी तालको पर्यटकीय र धार्मिक महत्वका बारेमा प्रचार गर्नसके यो क्षेत्रकै महत्व बढ्ने देखिन्छ । जीर्ण बन्दै गइरहेको तालको संरक्षणमा स्थानीयवासी लाग्नुपर्ने र तालको संरक्षण र संवद्र्धनमा आफूले पनि सक्दो सहयोग गर्ने इलाका प्रशासन कार्यालय जोगबुढाका प्रमुख पाण्डेयले मन्दिर उद्घाटनका क्रममा बताए । स्थानीय र सरोकारवालाले तालको संरक्षण नगर्दा तालको महत्व घट्नुका साथै तालको अवस्था जीर्ण बन्दै गइरहेको छ । महाभारतको काखमा रहेको आलिताललाई स्थानीय र सरोकारवाला निकायले तालको महत्वलाई प्रचारप्रसार गरी राष्ट्रिय पहिचानका रुपमा अगाडि बढाउन सके पर्यटन व्यवसायसमेत फस्टाउने सम्भावना रहेको स्थानीयवासी लालबहादुर महराले बताए ।

डडेल्धुरा

विशेष