अर्थ

सुनचाँदी गहनामा मिसावट

सुनचाँदी गहनामा मिसावट

माघ २१ । बजारमा सुनचाँदीका गहनामा मिसावट भेटिन थालेको छ ।

बजार अनुगमन गर्न जिम्मा पाएको आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले गरेको अनुगमनमा यस्तो फेला परेको हो। गहनामा मिसावटले नाकमा घाउ भएको र पाकेको उजुरी परेपछि विभागको टोलीले माघ ७ गते गहना पसलमा अनुगमन गरेको थियो।

त्यसक्रममा शुक्रपथमा रहेको नोज पिन हाउस, शुभलाभ ज्वेलर्स, जे एण्ड सिल्भर हाउस प्रालि र जय श्रीकृष्ण ज्वेलर्स प्रालिबाट गहनाको नमुना संकलन गरिएको थियो। संकलन गरिएको गहनाको नमुना गुणस्तर तथा नापतौल विभागमा परीक्षण गरिएको थियो।

परीक्षणका क्रममा गहनामा मिसावट भएको फेला परेको हो। विभागले तयार पारेको नमुनाको प्रतिवेदन अनुसार कोखला चिकमखोला नामक चाँदीको गहनामा ८६ दशमलव ८७ प्रतिशतमात्र शुद्धता छ। उक्त गहनामा ६ दशमलव १७ प्रतिशत कपर र २ दशमलव ३७ प्रतिशत जिंक मिसावट छ। यस्तै ४ दशमलव ३६ प्रतिशत क्याडमियम मिसाएको पाइएको छ। क्याडमियम मानव स्वास्थ्यका लागि हानिकारक रसायन हो।

प्रतिवेदनअनुसार नोज पिन नामक सुनको गहनामा ९१ दशमलव २१ प्रतिशत शुद्धता छ। २ दशमलव २५ प्रतिशत चाँदी र ६ दशमलव १२ प्रतिशत कपर मिसावट गरिएको छ। अर्को सुनको गहनामा ९२ प्रतिशतमात्र शुद्धता छ।

कान्तिपूर

Gold In market

विशेष