अपराध सुरक्षा

काकीले गरिन ३ वर्षे भतिजको घाँटी निमोठेर हत्या

काकीले गरिन ३ वर्षे भतिजको घाँटी निमोठेर हत्या
माघ - २४ । घरायसी विवादको रिसिबिलाई लिएर सप्तरीमा आफ्नै काकीले तीन वर्षे बालकको हत्या गरेकी छिन् । पातो गाविस वडा नं. ६ निवासी धर्मदेव मण्डल खंगको तीन वर्षीय छोरा रामअवतार मण्डललाई उनकी काकी उर्मिलादेवी मण्डलले घाँटी निमोठेर हत्या गरेकी हुन् ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार घरमा कोहि नभएको मौका पारी उर्मिलाले बालकको हत्या गरेकी हुन् । हत्या गरेर पुरानो सारीमा पोको पारी प्लाष्टिकको बोरामा हालेर घर पछाडि पातपतिंगर राख्ने ठाउँमा बालकको शव फेला परेको एसपी दिवेश लोहनीले जानकारी दिएका छन् । ३ दिनअघि मृतककी आमा चन्द्रिकादेवी खंग र काकी उर्मिलाबीच घरायसी विवाद हुँदा उर्मिलाले ‘मारिदिन्छु’ भन्दै धम्कि दिएकी थिइन् । आइतवार विहान मृतकका हजुरबुबा रामदेव ईटाभट्टामा काम गर्न, हजुरआमा विनादेवी घाँस काटन र आमा चन्द्रिका पात टिप्न जंगल गएका बेला उक्त घटना भएको लोहनीले जानकारी दिए । उनका अनुसार मृतकका बाबु र काका अशोक मण्डल सिलाई कटाईको काम गर्न एक हप्ता अघि मात्रै भारतको मुम्बई गएका छन् ।

आइतवार २ वजे चन्द्रिका जंगलवाट घर आउँदा छोराको खोजी गर्दा फेला नपरेपछि साँझ ४ वजे बोरामा शव फेला परेपछि प्रहरीलाई खवर गरेकी थिइन् । प्रहरीले उर्मिलालाई आइतबार राति पक्राउ गरी सोमबार कर्तव्य ज्यान मुद्दामा सप्तरी जिल्ला अदालत राजविराजबाट म्याद थप गरी अनुसन्धान कार्य भइरहेको एसपी लोहनीले बताएका छन् । उनका अनुसार आरोपी उर्मिलाले अपराध स्विकार गरिसकेकी छिन् ।

हत्या

विशेष