अर्थ

कुखुराको मासुको मूल्य बढ्याे

कुखुराको मासुको मूल्य बढ्याे
माघ - २५ । ब्रोइलर कुखुराको चल्लाको मूल्य बढेको दुई दिन बित्न नपाउँदै जिल्लामा व्यवसायीले कुखुराको मासुको मूल्य समेत बढाएका छन् । नेपाल कुखुरा बजार व्यवस्थापन सङ्घले ब्रोइलर मासुको मूल्य जिउँदोमा प्रतिकिलो १० र तयारी मासुमा २० रुपैयाँका दरले मूल्य बढाएको छ । बढेको मूल्य अनुसार जिउँदो मासुको मूल्य प्रतिकिलो १८० रुपैयाँ पुगेको सङ्घले जनाएको छ । यसअघि जिउँदो ब्रोइलरको मासु प्रतिकिलो १७० रुपैयाँ कायम गरिएको थियो । फ्रेसमासु प्रतिकिलो २ सय ८० रुपैयाँसम्म तिरिरहेका उपभोत्ताले अबदेखि प्रतिकिलो तीन सय रुपैयाँ तिर्नुपर्ने भएको छ । मासुको माग बढ्दै गएको र त्यसको तुलनामा ब्रोइलर कुखुराको उत्पादन कम भएका कारण मूल्य बढाउनुपरेको नेपाल कुखुरा व्यवसायी मञ्चका कार्यकारी अधिकृत शिवप्रसाद बरालले बताए । देशभर ब्रोइलर कुखुराको दैनिक उत्पादन करिब आठ लाख किलो छ । चितवनमा मात्रै दैनिक ७० हजार किलो मासु उत्पादन हुन्छ । यहाँको उत्पादनमध्ये करिब ३० प्रतिशत जिल्लामा खपत हुन्छ । बाँकी उत्पादन काठमाडौंलगायत मुख्य सहरमा पठाइन्छ । जिल्लामा व्यावसायिक कुखुरा पाल्ने किसानको सङ्ख्या ७०० देखि ८०० को हाराहारीमा रहेको छ ।

ब्रोइलर

विशेष