अर्थ कर्पोरेट

अल्लोले बजार पाएन

अल्लोले बजार पाएन
माघ २६ । भोजपुर जिल्लाको उत्तरी गाविस कुलुङ चौकीडाडाँका स्थानीयले उत्पादन गरेको अल्लोका विभिन्न सामग्रीले बजार नपाएको गुनासो गरेका छन् । भौगोलिक विकटताका बीच ग्रामीण भेगका सर्वसाधारणले गाउँघरमै सङ्कलन गरेको अल्लोबाट झोला, बर्की, लत्ताकपडालगायत विभिन्न सामग्री निर्माण गरेता पनि गाउँमा बजार नभएपछि त्यसै थन्काएर राख्नुपर्ने बाध्यता रहेको उनीहरुले बताएका छन् । अल्लोको रेसा निकालेर सुकाउने, पकाउने कुट्ने, धुने लामो प्रक्रियाबाट सामग्री तयारी गर्नुपर्ने भएकाले लगानी धेरै लाग्ने गरेको तर बजार नजिकमा नहुँदा समस्या हुने गरेको अल्लो व्यवसायी मालती कुलुङले बताइन् । उनले भनिन् - 'ब्याजमा ऋण काढेर सामान उत्पादन गर्छौं तर गाउँमा बजार छैन, भोजपुरबजार पुग्न एक दिन हिँडेर गाडी चढ्नुपर्छ, त्यो पनि उपभोक्ताले सस्तो मूल्यमा खोज्छन् ।' यता अल्लोको धागोबाट बुनेको कपडा राम्रो भए पनि ज्यादै महँगो भएको नेपाली सेनामा कार्यरत जुम्लाका योगेश राउतले बताए । अल्लोको सामग्री जिल्लामा केही कर्मचारीले मात्र खरिद गरेर आफ्नो व्यवसाय टिकाउन नसकिने व्यवसायी मीना कटुवालको भनाइ छ । रासस

Allo

विशेष