अपराध सुरक्षा

नेपालमा काम पाइने भन्दै बंगलादेशबाट मानव तस्करी

नेपालमा काम पाइने भन्दै बंगलादेशबाट मानव तस्करी

माघ २७ । युरोप, अमेरिका र खाडी मुलुकका लागि नेपाल मानव तस्करीको ‘ट्रान्जिट’ बनेको भन्दै आलोचना भइरहेका बेला बंगलादेशबाट नेपालमा समेत मानवतस्करी हुने गरेको तथ्य खुलासा भएको छ ।

बंगलादेशी, भारतीय र केही नेपाली दलालले नेपालमा आकर्षक काम पाइने प्रलोभन देखाई बंगलादेशीलाई नेपाल ल्याउने गरेका छन् । मानव तस्करले नेपालमा आकर्षक काम र तलब पाउने भन्दै बंगलादेशीलाई नेपाल भित्र्याउने गरेका हुन् ।

नेपालमा कामदार नपाएपछि विभिन्न कम्पनीले बंगलादेशीलाई काममा लगाउन थालेका छन् । तस्करको मिलेमतोमा सस्तो कामदारका रूपमा सुन पसल, साडी पसल, गार्मेन्ट र निर्माण कम्पनीले बंगलादेशीलाई भित्र्याइरहेको स्रोतले बताएको छ । कतिपयलाई त दलालले नेपालबाट युरोप छिर्न सजिलो भएको भन्दै ल्याउने गरेका छन् ।

बंगलादेशीलाई नेपालसम्म ल्याउन बंगलादेश, भारत र नेपालकै केही दलाल सक्रिय छन् । दलालले त्यस्ता कामदारलाई भारतको कोलकातासम्म ल्याउने र काठमाडौंमा लामो समयदेखि बस्दै आएका बंगलादेशीले नेपाली दलालको सहयोगमा कोलकाताबाट काठमाडौंमा ल्याउने गरेको स्रोतले बताएको छ ।

दलालले झापाको काँकडभिट्टा नाका छलेर त्यस आसपासको सीमाबाट बंगलादेशीलाई काठमाडौंसम्म ल्याउने गरेका छन् । त्यसरी आएका बंगलादेशीले प्रतिव्यक्ति कम्तीमा २० हजार रुपैयाँ दलाललाई दिने गरेका स्रोतले बताएको छ ।

नेपालमा भूकम्प गएपछि पुनर्निर्माणको काम पाइने भन्दै तस्करले बंगलादेशीलाई ल्याउने क्रम बढेको हो । केही बंगलादेशी उपत्यकाका विभिन्न स्थानमा निजी घर निर्माणमा काम गर्दै आएका छन् । नेपालमा पहिल्यै आएर बसेकाकै संलग्नतामा मानव तस्करी भइरहेको स्रोतले बताएको छ ।

राहदानी र प्रवेशाज्ञा नभएका ती बंगलादेशीले अलिकति पैसा कमाएपछि नेपालको नागरिकता र राहदानी बनाउन खर्चिने गरेका छन् । दलालको सहयोगमा नागरिकता र राहदानी बनाउन सफल भए पहिलो रोजाइमा युरोपेली मुलुक र त्यहाँ नभए उनीहरू खाडी जाने गरेका छन् । विदेशीलाई नेपाली नागरिकता र राहदानी बनाउने गिरोह पनि काठमाडौंमै सक्रिय छन् ।

नेपालमा ३ हजारभन्दा बढी संख्यामा बंगलादेशी बिनाप्रवेशाज्ञा बस्दै आएको स्रोतले बताएको छ । अध्यामगन विभागले नेपालमा अवैध बसोवास र काम गर्दै आएका विदेशीको अनुगमन गर्ने बताउँदै आए पनि अहिलेसम्म सुरु भएको छैन । अध्यागमनको कमजोर कार्यशैलीका कारण हजारौं अवैध विदेशी कामदार नेपालमा छन् ।

यसैबीच अध्यामगन विभागले गत आइबार अवैध रूपमा नेपाल बस्दै आएको आरोपमा पक्राउ परेका ३६ बंगलादेशीलाई जेल चलान गरेको छ । गत आइतबार महानगरीय प्रहरीवृत्त सोह्रखुट्टेले ठमेल र त्यसआसपास क्षेत्रबाट ती बंगलादेशीलाई पक्राउ गरेको थियो ।

विभागले उनीहरूलाई भिसा र विलम्ब शुल्कबापत थोरैमा ९ सय ५० र बढीमा ८ हजार ५ सय अमेरिकी डलर तोकिदिएको थियो । उक्त रकम तिर्न नसकेपछि उनीहरूलाई विभागले कारागार पठाएको हो । कागजपत्र नभएका कारण विभागले उनीहरूले नेपाल छिरेको मिति भनेबमोजिम जरिवाना तोकिदिएको हो । मजदुरी गर्दै आएका ती बंगलादेशीले त्यति धेरै रकम तिर्न नसक्ने बताएका थिए ।

अन्नपूर्ण पोस्ट

Manab Taskari

विशेष