अर्थ

बनेपाको विकासका लागि पन्ध्र करोड बजेट

बनेपाको विकासका लागि पन्ध्र करोड बजेट
माघ–२७ । बनेपा नगरपालिकाले आगामी आर्थिक वर्षका लागि १४ करोड ९८ लाख चार हजार रुपैयाँ बराबरको अनुमानित बजेट सार्वजनिक गरेको छ । बनेपा नगरपालिकाले आयोजना गरेको आर्थिक वर्ष ०७४-०७५ का लागि बजेट तथा कार्यक्रम सार्वजनिकीकरण कार्यक्रममा उद्योग राज्यमन्त्री कञ्चनचन्द्र वादेले बजेट तथा कार्यक्रम सार्वजनिक गरेका हुन् । नगरपालिकाले आन्तरिक स्रोतबाट दुई करोड ५० लाख ८० हजार रुपैयाँ तथा बाह्य स्रोतबाट १२ करोड ४७ लाख २४ हजार रुपैयाँ प्राप्त गर्ने अनुमान गरेको छ । यो गत आवको भन्दा करिब २१ प्रतिशत बढी बजेट भएको नगरपालिकाले जनाएको छ । सो अवसरमा उद्योग राज्यमन्त्री कञ्चनचन्द्र वादेले स्थानीय निकायमा जनप्रतिनिधि नभएको अवस्थामा कस्तो बजेट निर्माण गर्ने भन्ने विषयमा सरकारले मापदण्ड बनाएको उल्लेख गर्दै नगरपालिकामा अव्यवस्थित नक्सा पास रोक्नुपर्ने बताए । काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी शिव शिंखडाले बजेटलाई कनिका छरेजस्तो बनाउन नहुनेमा जोड दिँदै कार्यतालिकाका आधारमा बजेट सदुपयोग गर्न आग्रह गरे । बजेट सार्वजनिकीकरण कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी काभ्रेपलाञ्चोकका अध्यक्ष रघुवर चौप्रधान, उद्योग वाणिज्य सङ्घ, बनेपाका उपाध्यक्ष प्रकाश मान्नधर, बनेपा नगरपालिकाका राजस्व अधिकृत ध्रुव नेपाललगायतले बनेपामा फोहर व्यवस्थापनको विषय चुनौतीपूर्ण रहेकोमा जोड दिए । रासस

बजेट बनेपा विकास

विशेष