पर्यटन

सौराहा घुम्‍ने पर्यटकलाई ३० प्रतिशतसम्म छुट

सौराहा घुम्‍ने पर्यटकलाई ३० प्रतिशतसम्म छुट
सौराहाका पर्यटन व्यवसायीले प्रणय दिवसका अवसरमा सौराहा खाना महोत्सवमा आउने पर्यटकलाई ३० प्रतिशतसम्म छुटको घोषणा गरेका छन् । उनीहरुले खान बस्नमा १५ प्रतिशत र साना पर्यटन व्यवसायी समूहमार्फत उपहार सामग्रीहरु खरिदमा रु ३० प्रतिशत छुटको घोषणा गरेका हुन् । मुख्यगरी खाना महोत्सवलाई लक्षित गरेर आएका पर्यटकलाई सहज होस् भन्ने हेतुले छुटको घोषणा गरेको क्षेत्रीय रेवानका अध्यक्ष लालबहादुर भट्टले जानकारी दिए । छुट सुविधा लिनका लागि खाना महोत्सव परिसरमा रहेको सचिवालयबाट बुकिङ लिनुपर्ने उनले बताए । आजदेखि सुरु भई फागुन ४ गतेसम्म चल्ने यसपालीको खाना महोत्समवा भ्यालेन्टाइन जोडीलाई सौरेलीले विशेष निम्तो नै दिएका छन् । विशेष छुट प्याकेज कै घोषणा गरेर सौरेलीले खाना महोत्सवमा निम्तो बाँडेका हुन् । “प्रेमी जोडीका लागि सौराहा महत्वपूर्ण गन्तव्य हो, त्यसमाथि फुड फेष्टिवलले झन् उनीहरुलाई रौनक दिनेछ”, कार्यक्रम संयोजक नरेश गिरीले भने, “जोडीलाई सौरेलीको निम्तो छ ।” सौराहामा १०० बढी सुविधायुक्त होटलमा दैनिक दुई हजार ५०० पर्यटक बस्न सक्ने क्षमता छ । अहिले पर्यटकको सिजन नभएकाले उनीहरुलाई आकर्षित गर्न हात्ती महोत्सव, खाना महोत्सव, नयाँ वर्ष उत्सवलगायत कार्यक्रम सौरेलीले गर्दै आाएका छन् । जसका कारण आन्तरिक पर्यटक भने बढेको व्यवसायी शीरलाल परियार बताउँछन् । यसपटक खाना महोत्सवमा स्थानीय परिकार, थारुको परिकार र सौराहामा हुने खाना तथा अन्तर्राष्ट्रिय परिकार प्रदर्शन गरिँदैछ । “प्राकृतिक सौन्दर्यता, चितवन सौराहाको विशेषता” भन्ने नारासहित कार्यक्रम गरिएको हो । रेस्टुरेन्ट एण्ड बार एसोसिएसन नेपाल (क्षेत्रीय रेवान) ले सौरहामा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले प्रणय दिवसको अवसर पारेर खाना महोत्सव आयोजना गरेको हो । महोत्सवबाट आएको आम्दानीमध्ये केही प्रतिशत अपाङ्ग तथा वृद्धवृद्धालाई सहयोग, खेल मैदान व्यवस्थापन, स्थानीय क्लब तथा उज्यालो सौराहा कार्यक्रममा खर्च गरिने जनाईएको छ । महोत्सवमा करिब ४० लाख खर्च हुने र ५० लाख भन्दा बढीको कारोबार हुने अनुमान गरिएको आर्थिक समितिका संयोजक गोकर्ण गिरीले बताए ।

विशेष