अर्थ कर्पोरेट

पाल्पाबाट यो वर्ष १२ करोडको सुन्तला निकासी

पाल्पाबाट यो वर्ष १२ करोडको सुन्तला निकासी
माघ - २९ । यस वर्ष पाल्पाबाट १२ करोड रुपैयाँ बराबरका सुन्तला निकासी भएको छ । जिल्लामा व्यावसायिक रुपमा सुन्तलाखेती हुन थालेपछि यसको उत्पादनमा आएको बृद्धिसँगै निकासीसमेत बढेको हो । पाल्पामा उत्पादित सुन्तला रुपन्देही, स्याङ्जा, नवलपरासी र कपिलवस्तु जिल्लामा ठूलो मात्रामा निकासी हुने गरेको जिल्ला कृषि विकास कार्यालय पाल्पाले जनाएको छ । कार्यालयका अनुसार पाल्पाबाट वार्षिक ५० हजार भन्दा बढी सुन्तलाका बिरुवासमेत बाहिरी जिल्लामा निकासी हुने गरेका छन् । 'जिल्लाको हिमाली क्षेत्रका जग्गा सुन्तलाखेतीका लागि राम्रो र उपयुक्त हो,' जिल्ला कृषि विकास कार्यालय पाल्पाकी बाली विकास अधिकृत निशा कँडेलले भनिन्, 'जिल्लाका हिमाली क्षेत्रका करिब दुई हजार घरपरिवार व्यावसायिक सुन्तलाखेतीबाट आत्मनिर्भर बनेका छन् ।' जिल्लाको छहरा, मुझुङ्ग, पालुङ्गमैनादी, कुसुमखोला, ख्याहा, भैरवस्थान, नायरनम्तलेस लगायतका गाविस सुन्तला उत्पादनका लागि उपयुक्त क्षेत्र मानिएको छ । पाल्पामा सुन्तला उत्पादन बढे पनि तानसेन लगायतका बजारमा अहिले पनि भारतीय सुन्तलाले बजार लिएका छन् । स्थानीयभन्दा पनि भारतीय सुन्तालाको कारोबार यहाँ उच्च देखिन्छ ।

orange Palpa

विशेष