अर्थ

अकबरे खुर्सानीबाटै एउटा गाउँकाे अाम्दानी २२ लाख

अकबरे खुर्सानीबाटै एउटा गाउँकाे अाम्दानी २२ लाख
फागुन - ३ । तेह्रथुम जिल्लाको सुदाप–२ र ओख्रे–८ स्थित जोडीसल्लाका महिला कृषकले यसवर्ष अकबरे खुर्सानीबाट मात्रै रु २२ लाखभन्दा बढी रकम आम्दानी गरेका छन् । तीन वर्षयता अकबरे खुर्सानीको व्यावसायिक खेती गर्दै आएका ४० घर किसान परिवारले यो वर्ष अकबरेबाट राम्रो आम्दानी गरेको स्थानीय नवसिर्जना महिला समूहकी अध्यक्ष शिवमाया खड्काले बताए । गतवर्ष गाउँका प्रत्येक परिवारले कम्तीमा एक हजारदेखि पाँच हजार वटा अकबरे खुर्सानीका बिरुवा रोपेका थिए, अध्यक्ष खड्काले भने – “विगतका पुराना बोटसहित गरेर यो वर्ष धेरै परिवारले कम्तीमा रु ३० देखि डेढ लाखसम्मको खुर्सानी बेचेका छन् । छोटो समयमा कम मेहनत र सजिलो तरिकाबाटै मनग्य आम्दानी गर्न सकिन्छ भन्ने थाहा पाएपछि उनीहरु व्यावसायिक खेतीतर्फ आकर्षित भएका हुन् । उनीहरुलाई अकबरे खुर्सानीको खेतीबारे तालिम, बीउ अनुदान र व्यावसायिक बन्ने प्रेरणा दलित सचेतना समाज नेपाल नामक गैरसरकारी संस्थाले दिएको हो । पहिल्यैदेखि कृषि पेसा अङ्गाल्दै आएका उनीहरु खासै अन्नबालीको उत्पादन नभएपनि तरकारी, फलफूल र नगदेबालीबाटै घर खर्च चलाउँदै आएका छन् । यो वर्ष पनि बस्तीका धेरै किसानले गरेको अकबरे खेतीबाटै गुजारा चलाइरहेको अध्यक्ष खड्काले बताए । आफूले चार रोपनी जमिनमा लगाएको चार हजार बिरुवाबाट यो वर्ष रु एक लाख २० हजार आम्दानी भएको स्थानीय सीता खड्काले बताए । 'गाउँमा सबैले गरेको देखेर मैले पनि यसवर्षबाट थालेकी थिएँ,' उनले भने – 'तर पहिलो वर्ष नै राम्रो उत्पादन भयो र आम्दानी पनि भएकाले सन्तुष्ट छु ।' गाउँका महिलाले घर खर्च, नानीहरुको पढाइ र चाडपर्वसमेत अकबरेकै आम्दानीबाट धान्न थालेको उनले बताए । गाउँमा भएको उत्पादनलाई बजारसम्म पु-याउन पनि खासै समस्या नभएकाले करेसासम्मै पुगेका सडक भएर शुक्रबारे बजार हुँदै धनकुटाको सिधुवामा पु-याएर बिक्री गर्ने गरेको कृषक यानादेवी खड्काले बताउनुभयो । यसवर्ष आफूले एक लाख ५० हजारको अकबरे खुर्सानी बेचेको उनले बताए। जिल्लामा अलैँची अदुवा र अम्लिसोपछि सबैभन्दा धेरै खेती र आम्दानी हुने नगदेबाली अकबरे खुर्सानी हो । अकबरेबाट बर्सेनि  सात करोडभन्दा बढी आम्दानी हुने गरेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

अकबरे खुर्सानी

विशेष