पर्यटन

गाउँ पर्यटनको विकासमा योगदान दिने तीन पर्यटनकर्मी सम्मानित

गाउँ पर्यटनको विकासमा योगदान दिने तीन पर्यटनकर्मी सम्मानित
फागुन - ४ । पोखरा गाउँ पर्यटन प्रवर्द्धनमा सक्रिय ‘गाउँ पर्यटन प्रवर्द्धन मञ्च नेपाल (भिटोफ)' पोखरा शाखाले गाउँ पर्यटनको विकासमा योगदान गर्ने तीनजना अगुवालार्ई सम्मान गर्ने भएको छ। गाउँ पर्यटनका नायक रुद्रमान गुरुङको प्रथम स्मृतिमा आगामी फागुन १५ गते पोखरामा एक समारोहबीच सामुदायिक होमस्टेको विकास र प्रवर्द्धनमा योगदान पुर्‍याएका स्याङ्जा, सिरुबारीका पर्यटन संयोजक जुम गुरुङ, लमजुङ घलेगाउँका पर्यटन समिति अध्यक्ष प्रेम घले र पर्वत जिल्लाको चित्रे सामुदायिक होमस्टेक अध्यक्ष सुशीलादेवी गुरुङलाई सम्मान गर्न लागिएको भिटोफ पोखराका अध्यक्ष तारानाथ पहारीले जानकारी दिए। उनका अनुसार उनीहरु तीनै जनालाई ‘एक्सिलेन्ट लिडरसिप अवार्ड’ प्रदान गर्न लागिएको हो। 'होमस्टेसहित गाउँको पर्यटन विकासमा कुशलतापूर्वक नेतृत्व गरेबापत उनीहरुको सम्मान गर्न लागेका हौँ', पहारीले भने। उक्त कार्यक्रममा नेपालको पहिलो होमस्टे गाउँ सिरुबारीका अभियन्ता एवम् स्वर्गीय क्याप्टेन रुद्रमान गुरुङको योगदानमाथि चर्चा गरिने अध्यक्ष पहारीले बताए। उनका अनुसार हरेक वर्षको साउनमा भिटोफको वार्षिक साधारण सभाको अवसर पारी पोखरासहित पश्चिमाञ्चल क्षेत्रका दुईजना पत्रकारलाई ‘रुद्रमान स्मृति पर्यटन पत्रकारिता पुरस्कार’ प्रदान गरिने छ। पुरस्कारको राशि जनही ११ हजार १११ रुपैयाँ रहने छ। रुद्रमानकै अगुवाइमा २०५४ असोजदेखि सिरुबारीमा होमस्टेसहित गाउँ पर्यटन सुरु गरिएको थियो। गुरुङको ८६ वर्षका उमेरमा २०७२ साल फागुन १५ मा निधन भएको थियो ।

samman

विशेष